काठमाडौँ, मंसिर ५ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्।
उनले आज १० संयुक्त र एकल इजलासमा ३३४ मुद्दामा पेसी तोकेका हुन्। उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन्। मुद्दामा सुनुवाइका लागि पेसी तोकिए पनि अहिलेसम्म सुनुवाइ प्रारम्भ भएको छैन।
प्रधानन्यायाधीश राणासहित सर्वोच्चका सम्पूर्ण न्यायाधीशको बिहीबारको पूर्ण बैठक (फूलकोट) ले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि न्यायाधीश इजलासमा बसेर न्यायसम्पादन कार्यमा लागेका छन्।
गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालय सुधारको माग राख्दै न्यायाधीशले इजलासमा बस्न इन्कार गरेका थिए। सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन। बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो भने गोला प्रणाली लागू गर्ने निर्णय भएपछि न्यायाधीश काममा फर्किएका छन्। अदालतमा मुद्दाको चापअनुसार नियमितरुपमा बेञ्च बस्न नसक्दा न्यायका पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका थिए।


























