चितवन, मंसिर २ । नेपाली कांग्रेस चितवनका नेता राजेश्वर खनालले पछिल्लो समय पार्टीको जिल्ला नेतृत्व कमजोर भएको आरोप लगाएका छन्। कांग्रेसको १४औँ महाधवेशनमा जिल्ला सभापति पदको उमेदवारी घोषणा गर्दै नेता खनालले बिहीबार भरतपुरमा पत्रकार मिलन कार्यक्रम आयोजना गरेर भने, ‘१२ र १३औँ महाधिवेशनबाट आएको जिल्लाको नेतृत्व कमजोर बन्यो। जसकारण पार्टीले सबै निर्वाचन क्षेत्र गुमाउनुपर्यो।’
आफूले पार्टी सभापति पदमा बिजयी हासिल गर्ने अवसर पाए पार्टीको गुमेको साख फिर्ता गर्ने उनको चुनावी एजेण्डा छ। जिल्लामा सभापति पदकै लागि ७ जना आकांक्षी देखिँदै गर्दा नेता खनालले भने पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धा भएको हुँदा प्रतिष्पर्धी सबैप्रति सम्मान व्यक्त गर्दै जीत भने आफ्नै पक्षमा रहेको दाबी गरे।
पछिल्लो पार्टी नेतृत्व कमजोर रहेको आरोप लगाउँदै गर्दा चितवनका कांग्रेसले रुखबाहेकको चुनाव चिन्हमा मतदान गर्ने दिन कहिले आउँछ भन्ने विषयमा भने खुलाउन चाहेनन्। केन्द्रीय समितिको निर्णयअनुसार जिल्ला समिति चल्नुपर्ने भन्दै उनले भने, ‘चुनावी तालमेलको कुरा केन्द्रीय समितिमा भर पर्ने हुँदा हामीले जिल्लामा बसेर ग्यारेन्टी गर्न सकिँदैन।’ तर आफूले चुनाव जिते पार्टीलाई एक्लै चुनाव लडेर जित्न सक्ने बनाउने उनको दाबी छ।
आफूले एक व्यक्ति, एक पदलाई मूल आधार बनाएर चुनावमा होमिएको उनको भनाइ छ। खनालसँगै चितवनमा जिल्ला सभापित पदका लागि वहालवाला उप-सभापति कैलाश कोइराला र सचिव उत्तम जोशीले पनि सभापति पदमा उमेदवारी घोषणा गरिसकेका छन्।
साथै वरिष्ठ अधिवक्ता एवम् पूर्व सांसद जगन्नाथ पौडेल, वागमती प्रदेश सांसद मिलनबाबु श्रेष्ठ, कृषि तथा वनविज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्राडा सूर्यकान्त घिमिरे र विजयराज शर्मा भुसालले पनि जिल्ला सभापति पद आफ्नो पक्षमा पार्न दौडधूप गरिरहेका छन्।


























