चितवन ०१ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको लागि महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई सम्झिनुपर्ने बताएका छन्। बुधबार चितवनमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रवक्ता शर्माले पार्टीलाई सहयोग गर्दागर्दै कोही व्यक्ति सडकमा पुगेका छन् भने त्यस्ता व्यक्तिको पहिचान गरी पार्टीले सम्झिनुपर्ने बताएका हुन्। ‘त्यसको लागि दलमा रुपान्तरण आवश्यक छ,’ उनले भने, ‘किनकि कांग्रेसले आजसम्म गरेका कुनै पनि कामबारे हामीले जनतालाई बुझाउन सकेनौं। त्यसैले अब हामीले विगतमा गरेका सबै कामबारे जनतासामु प्रस्ट बुझाउन जरुरी छ।’
एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि कांग्रेसलाई सत्तामा फर्किने सम्भावना नै छैन भनेर उडाएका पार्टी र उनका नेता पनि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भेट्न गएको प्रसंग कोट्याउँदै उनले थपे, ‘हिजो हामीलाई हरायो भन्नेहरु आफैँ खोज्न आएको कुरा त सबैलाई छर्लङ्गै छ। त्यसैले कांग्रेस अझै पनि कमजोर भइसकेको छैन। अब पार्टीलाई रुपान्तरण गरेर लैजानपर्ने बेला आएको छ।’
कांग्रेसको पालामा भएका राम्रा कामबारे जनतालाई प्रष्ट बुझाउन नसक्दा कांग्रेसको पालामा देश बर्बादीतर्फ धकेलियो भन्ने भ्रममात्रै परेको उनले बताए। ‘कांग्रेसको पालामा जनकपुर चुरोट कारखाना डुब्यो भनेर प्रचार गरे। हो त्यो डुब्यो। तर चुरोट खाएर डढाएको फोक्सोको उपचार गर्न भरतपुरमा क्यान्सर अस्पताल खोलेको कुरा हामीले जनतालाई बुझाउन सकेनौँ। बाँसबारीको जुत्ता कारखाना डुब्या भन्यो। हो त्यो पनि डुब्यो। तर आज त्यहाँ जुत्ता होइन, बिरामीको मुटु सिलाउने मुटु अस्पताल पनि कांग्रेसकै पालामा बनेको भन्ने कुरा कहिल्यै बताएनौँ। अब भन्नुस् कांग्रेसले क्यै गरेको छैन?’
प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा केपी ओलीले आफ्नो प्रचारबाहेक केही नगरेको उनले बताए। प्रचारप्रसारको क्षेत्रमा कांग्रेस आक्रामक बन्न नजानेको उनको भनाइ छ। ‘केपी ओलीले जनतालाई रोजगार दिने नाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएर अर्बौँ रकम ध्वस्त पारे। तर युवाहरुलाई रातो ज्याकेट लगाइदिएर पार्टीको प्रचारबाहेक केही गरेनन्,’ उनले भने।
पार्टीको महाधिवेशनबारे धारणा राख्दै नेता शर्माले निर्वाचनमा गठबन्धन गर्दा सम्बन्धित जिल्लाको रायअनुसार गर्ने बताए। यसअघिको स्थानीय तह निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो भने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा राप्रपासँग गठबन्धन गरेपछि असन्तुष्ट बनेको चितवनका कांग्रेसीहरुलाई सहानुभूति दिलाउँदै नेता शर्माले भने, ‘आम निर्वाचनमा एक्लै लड्ने कि गठबन्धन बनाएर निर्वाचन लड्ने भन्ने विषयमा जिल्लाको, महाधिवेशन प्रतिनिधिको रायअनुसार हुन्छ। काठमाडौंमा बसेकाले निर्णय गरेर लाद्ने काम हुँदैन।’ केन्द्रको निर्णयले तल्लो तहका नेता कार्यकर्ताको भावनामा ठेस पुग्न नहुने उनको भनाइ छ।


























