काठमाडौं, मङ्सिर १ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। मंगलबार साँझ बसेको बारको बैठकले आगामी शुक्रबारसम्मका लागि थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
बारले आगामी दिनमा पनि सर्वोच्च अदालत अगाडि जारी धर्ना तथा प्रदर्शनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। यसका साथै १८ वटै उच्च अदालतमा समेत बारले विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।
मंसिर ३ गते शुक्रबारसम्म प्रधानन्यायाधीश राणाले राजीनामा नदिए केन्द्रीय प्रतिनिधि पठाएर उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरिएको बारका महासचिव लिलामणि पौडेलले बताए। उनले मंसिर ३ गते संसदमा रहेका सबै दलको कार्यालयमा ज्ञापन पत्र बुझाइने जानकारी दिए।
यस्तै बारले प्रधानन्यायाधीश बिना संवैधानिक परिषद्को बैठक बोलाएर अदालतमा देखिएको समस्या हल गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। प्रधानन्यायाधीश राणाले अहिलेसम्म गरेका विवादित फैसला सम्बन्धी कागजपत्र संकलन गरेर अध्ययन गर्ने निर्णयसमेत बारले गरेको छ।
बारले आन्दोलन अवधिभर प्रधानन्यायाधीश उपस्थित सबै कार्यक्रम बहिस्कार गर्नेसमेत जनाएको छ।


























