चितवन, कार्तिक १६ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माडीको अयोध्याधाम विश्वको सबैभन्दा दर्शनीय पवित्रस्थल बन्ने बताएकाछन्। अयोध्याधामको आज अवलोकनपछि उहाँले रामको जन्मभूमि अयोध्यामाडीमा नै भएको धेरै कुराले प्रमाणित भइसकेको बताए।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, “धर्म शास्त्रका कुराले प्रमाणित भइसकेको छ।” भारतको अयोध्यालाई १५० वर्ष अघिसम्म अयोध्या नभनी त्यतिबेला फैजावाद भन्ने गरिन्थ्यो।” थारुहरुको लाठीनाचसमेत भगवान् रामका पालामा वन्यजन्तु धपाउने क्रमको विकासको स्वरुप रहेको उनको भनाइ थियो।
राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसँगै मन्दिरको दर्शनपछि उनले भने, “भगवान् राम आफ्नो जन्मभूमिमा आउनुभएको छ। सँगै लक्ष्मण, सीता र हनुमान पनि हुनुहुन्छ।” अत्याचार भयो भने हात जोडेर बस्नुभएका हनुमानले गधा उठाउने ओलीको भनाइ थियो। उनले थपे, “दानवीय प्रवृत्तिका मानिस होसियार हुनुपर्छ।” माडीलाई मणि बनाउन राम फर्किएर आउनुभएको भन्दै उनले अब माडी मणि बन्ने बताए।
माडीमा भक्तजनको घुइँचो लाग्ने भन्दै ओलीले भने, “दर्शनका कुरा गर्ने होइन। इतिहास र पहिचानको कुरा हो यो।” पहिचान र इतिहास उत्खनन गर्दै जाने भन्दै उनले यो सत्यको पक्षमा रहेको बताए। रिउखोला पहिले रेवा भएको भन्दै त्यसअघि सरेउ भएको र यो धर्म शास्त्रमा समेत उल्लेख भएको उनको जिकिर थियो। आउँदो निर्वाचनमा आफ्नो पार्टीको जितसँगै धामको विकासको काम गरिने उनले बताए। उनले भने “एक डेढ वर्ष बजेटको आश नगर्नुस निर्वाचनपछि सबै हुन्छ।”
कार्यक्रममा नेकपा (एमाले) का नेता प्रभू साहले देश बनाउन सकिन्छ भन्ने सन्देश दिन चितवनमा पार्टीको महाधिवेशन गर्न लागिएको बताए। उनले नेकपा माओवादी केन्द्रका असल मान्छे एमाले आइसकेको जिकिर गरे।
कार्यक्रममा नेकपा एमालेका क्षेत्रीय अध्यक्ष श्याम विष्ट, स्थानीय नेता श्री दवाडीलगायतले अयोध्याधामको बारेमा जानकारी गराएका थिए। ओली प्रधानमन्त्री भएको समयमा माडी नगरपालिका–९ को अयोध्यापुरी रामको जन्मभूमि अयोध्या भएको भन्दै आफ्नै खर्चमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति बनाएर पठाएका थिए। सो क्षेत्रको १०० बिघा जमिनमा अयोध्या धाम बनाउने गरी मन्दिर निर्माण गरिएको छ। यो चितवन क्षेत्र नम्बर ३ मा पर्दछ। यस ठाउँबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएकाछन्। रासस


























