काठमाडौं, कार्तिक ७ । वरिष्ठतम् न्यायाधीशहरूको छलफल सकिएको छ। आजको छलफलले न्यायीक नेतृत्वमाथि छानविन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
सर्वोच्चमा मुद्दा प्रभावित हुने देखेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चका वरिष्ठतम पाँचजना न्यायाधीशहरूबीच छलफल भएको थियो। त्यसलगत्तै सर्वोच्चमा इजलास शुरु भएको छ। प्रधानन्यायाधीश र वरिष्ठतम् न्यायाधीशबीच के सहमति भयो भन्ने खुलेको छैन।
प्रधानन्यायाधीश जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायधीशहरूले इजलास बहिष्कारको चेतावनी दिएपछि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइ प्रभावित भएको थियो।
प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, मुद्दाको फैसलामा चलखेल गरेकोलगायतका आरोप लगाउँदै पूर्वन्यायाधीशहरू र नेपाल बार आन्दोलित भएपछि सर्वोच्चकै न्यायाधीशहरूसमेत इजलास बस्न मानिरहेका छैनन्।
केही न्यायाधीशले प्रधानन्यायाधीशमाथि उठेको प्रश्नको निरूपण नभएसम्म इजलास बस्न नसकिने बताएपछि मुद्दाको सुनुवाइ प्रभावित भएको थियो।
वरिष्ठतम् न्यायाधीशहरूसँगको छलफल सकिएपछि नेपाल बारको टोली प्रधानन्यायाशीध जबरा भेट्न सर्वोच्च पुगेको छ। अहिले प्रधानन्यायाधीश र बार टोलीबीच छलफल भइरहेको छ। यस्तै, दिउँसो साढे १ बजे सर्वोच्च बारको बैठक बस्ने भएको छ। रणनीति बनाउन बैठक बस्न लागेको हो।


























