काठमाडौं, कार्तिक १ । बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको नयाँ भाडादर आजदेखि लागु भएको छ।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो।
जसअनुसार अब काठमाडौँ उपत्यका लगायत क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायातमा ५ किलोमिटरसम्म यात्रा गर्ने यात्रुले १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ। यस्तै १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
यस्तै उपत्यका बाहेक अन्य क्षेत्रमा सञ्चाललन हुने सार्वजनिक यातायातले साबिकको भाडादरमा २३ प्रतिशत वृद्धि गरिएको छ। यो भाडादरमा यात्राले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउनेछन्।
त्यस्तै डिलक्स सहितको सुविधा प्रदान गर्न अनुमति प्राप्त सार्वजनिक यात्रुवाहक सवारी साधनले २० प्रतिशतसम्म थप भाडा लिनसक्ने जारी सूचनामा उल्लेख गरिएको छ।


























