असोज २९ । नेपालीहरूको महान् चाड बडादसैँको आज मुख्य दिन मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ।
आज बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गरेर बिहान १० बजेर २ मिनेटपछि टीका लगाउन थालिएको छ। पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउनका लागि सोही समय शुभ रहेको जनाएको थियो।
विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १० बजेर २ मिनेटको दिइएको थियो।विदेशबाट आउनेका लागि भने अखिल बलि पूर्ति गरेपछि पनि प्रसाद बाँकी राखेर कोजाग्रत पूर्णिमाका दिनसम्म पनि टीका लगाइदिन सकिने जनाइएको छ।
शुभ साइतको टीका लगाउन शुरू भएसँगै सडकमा मानिसहरुको चहलपहल बढेको छ। सुनसान देखिएको काठमाडौँका सडक पनि टीका र जमरा लगाएका मानिसहरुको चहलपहल शुरू भएको छ। विजयादशमीका लागि मान्यजनकामा जानका लागि मानिसहरु घरघरबाट निस्किएका छन्। यसका कारण सवारीसाधनमा चाप देखिएको छ।


























