काठमाडौं, असोज २५ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ।
एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको हो।
परराष्ट्र मन्त्रालयको सुझावअनुसार पूर्वनिर्धारित सम्मेलन स्थगित गरिएको एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले आज विज्ञप्तिमार्फत जानकारी दिएकाछन्। उनका अनुसार कानूनविद् र अन्य सम्बन्धितसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय पनि बैठकले गरेको छ।
एनआरएनएका अध्यक्ष कुमार पन्तको सभापतित्वमा भएको बैठकमा संस्थाको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल भएको जनाइएको छ।
अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर यस विशेष परिस्थितिमाथि छलफल गरी थप निर्णय गरिने जनाउँदै एनआरएनएले महाधिवेशनका लागि काठमाडौँ आइसकेका र आउन तयार रहेका प्रतिनिधिमा पुगेको असुविधाप्रति क्षमा मागेको छ।
एनआरएनएको अध्यक्ष पदका लागि कुल आचार्य, रविना थापा र डा.बद्री केसीले प्यानलसहित उम्मेदवारी तथा निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेकाछन्। रासस























