काठमाडौं, असोज १७ । नेकपा एमालेको विधान महाधिवेशनले राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई सुझावसहित सर्वसम्मत पारित गरेको छ।
आइतबार ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिएपछि सर्वसम्मत पारित गरेको हो।
त्यस्तै विधान महाविधेशनले आगामी राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा।विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ। विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले आयोगका संयोजकसहित सदस्यहरुको नाम प्रस्ताव गरेका थिए।
राष्ट्रिय महाधिवेशन वुटवलमा हुने एमालले जनाएको छ। बैठकले केही समसामायिक प्रस्ताव पनि पारित गरेको छ। बैठकले एमाले फुटाउनका लागि संविधानको अपव्याख्या गर्दै अध्यादेश ल्याएको भन्दै रोष प्रकट गरेको नेता रघुजी पन्तले जानकारी दिए।
त्यस्तै बैठकले भ्रमवस पार्टी विभाजनमा परेका कार्यकर्तालाई मुल पार्टीमा फर्कन पनि आह्वान गरेको छ। वर्तमान सरकारले भूमि सम्बन्धी आयोग खारेज गरेकोमा निन्दा गर्दै भूमिहीनको पक्षमा निरन्तर संघर्ष गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै स्रोत नखुलेको सम्पतीलाई बैधानिकता दिने गरि प्रतिस्थापन विधेयकमार्फत ल्याइएको व्यवस्था सत्तास्वार्थ रहेको भन्दै गलत निर्णय सच्चाउन पनि माग गरेको नेता पन्तले बताए।
त्यस्तै एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ। एमालेको नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा छ।
त्यस्तै एपले सबै कार्यकर्तालाई एउटै सञ्जालमा जोड्न मद्दत गर्ने एमालेले जनाएको छ। एमाले विधान महाविधेशन शुक्रबारदेखि शुरु भएको थियो। महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए।


























