चितवन असोज १२ । चितवन प्रहरीले ठगी गरेको आरोपमा अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको छ। भारतीय नागरकहरूलाई मुद्धा मिलाइदिन्छु भन्दै प्रतिव्यक्ति तीन लाख रूपैयाँका दरले रकम माग गरेको आरोपमा कालिका नगरपालिका वडा नं. ५ पदमपुर बस्ने वर्ष ५० का अधिवक्त देवकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।
देवकोटाले भारत घर भएका र झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको विषयमा कारवाही गरी पाउँ भनी अर्का भारतीय नागरिक सतिश कुमारले दएको जाहेरीका आधारमा नेपाली नागरिकता लिएका राहुल गुप्तासमेत गरी आठ जनालाई मुद्धा मिलाइदिन्छु भनेर पटकपटक फोन गरेर रकम माग गरेको प्रहरीले जनाएको छ। असोज १० गते पक्राउ परेका देवकोटामाथि चितवन जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।
मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–२१ को दफा २४९ अन्तर्गत ठगी गर्ने व्यक्तिलाई सात वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। साथै सोही संहिताको दफा ३४ मा कसुरको उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्ता कसुरको लागि तोकिएको सजायको आधा हुने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ।


























