काठमाडौं, असोज ७ । नेपाल विद्युत प्राधिकरणले आफ्नो पोलमा सेवा प्रदायकहरुले झुन्ड्याइएका तार तथा उपकरणहरु हटाउन पुनः चेतावनी दिएको छ।
प्राधिकरणले बिहीबार तेस्रोपटक सूचना जारी गर्दै असोज १५ पछि सम्झौता नगरी पोलमा झुन्ड्याइएका तार तथा उपकरणहरु हटाउन ताकेता गरेको हो। साथै इन्टरनेट, केबल टिभी र टेलिफोन सेवा प्रदायकहरुलाई पोलभाडा सम्झौता गरी बक्यौता भुक्तानी गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।
यसअघि २९ भदौमा पनि प्राधिकरणले सूचना जारी गर्दै यस्तै चेतावनी दिएको थियो। हालसम्म निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल, सबैभन्दा कान्छो इन्टरनेट सेवा प्रदायक सिजी नेटलगायतले मात्र भाडा सम्झौता गरेको प्राधिकरणले जनाएको छ।
सरकारी स्वामित्वको नेपाल टेलिकमदेखि इन्टरनेट सेवा प्रदायकहरु वर्ल्डलिंक, सुबिसु, भायनेट, क्लासिक टेकलगायतले प्राधिकरणसँग पोलभाडा सम्झौता नवीकरण गरेका छैनन्।
यही विषयमा नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायकलगायतका सरोकारवाला समूहहरुको छलफल शुक्रबार हुँदैछ।


























