काठमाडौं, असोज ६ । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अहिलेको अमेरिका भ्रमणको प्राथमिकतामा नरहेको बताएका छन्। बुधबार कार्यभार सम्हालेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जान लागेको भन्दै एमसीसी प्राथमिकतामा नरहेको बताएका हुन्।
५०० मिलियन अमेरिकी डलरको अनुदान सहयोग सम्बन्धी एमसीसी सम्झौताका विषयमा नेपालमा पक्ष र विपक्षमा बसह भइरहेको छ। नेपालमा यो विषयमा बहस भइरँदा अघिल्लो हप्तामात्र एमसीसीका उपाध्यक्ष फतिमा सुमारले नेपालको भ्रमण गरेकी थिइन्।
परराष्ट्रमन्त्री खड्का बुधबारै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्दैछन्। महासभाका क्रमममा साइडलाइन वार्ताका लागि मन्त्री आवश्यक रहेपछि प्रधानमन्त्री देउवाले उनलाई बुधबारमात्र मन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए। बुधबारै शपथ ग्रहणपछि डा.खड्काले कार्यभार सम्हाले। उनले न्यूयोर्कमा रहँदा नेपालको कूटनीति विषय उठाउने बताए।
उनले परराष्ट्र नीति राष्ट्रिय हितको विषय भएकाले सबै दलको सहमति समेतलाई ध्यान दिएर, सबै नेताहरुसँग परामर्श र सहमतिका साथ अघि बढाइने बताए।


























