दोहा, असोज ३ । कुवेतमा पाँच झोला हेरोइनसहित एक नेपाली युवालाई पक्राउ गरिएको छ।
कुवेतको आन्तरिक सुरक्षा मन्त्रालयले त्यहाँको हवाली क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा एउटा गाडी पार्किङ गरी बसेका चालकलाई भेटेको र खोजतलास गर्दा उनको गाडीबाट पाँच झोला हेरोइनसहित एक नेपाली युवालाई पक्राउ गरिएको जनाएको छ।
ती नेपालीलाई हेरोइन बिक्रीका लागि ग्राहक कुरेर बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको र उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि लागुऔषध प्रवर्तन विभाग पठाइएको कुवेत प्रहरीलाई उद्रित गर्दै अरब टाइम्सले जनाएको छ।
पक्राउ परेका ती नेपालीको परिचय भने खुलाईएको छैन। कुवेतमा पछिल्लो समय गैरकानुनी रुपमा बसेका नेपालीहरूले लागुऔषध, घरेलु मदिरा बिक्री वितरण गरेको आरोपमा धेरै नेपालीहरू पक्राउ परिसकेका छन्।
यस्ता गतिबिधिमा पक्राउ परेकाहरूलाई त्यहाँको सरकारले पुनः कुवेत फर्कन नसक्ने गरी डिपोर्ट गर्ने गरेको छ।























