असाेज २ । संविधान संशोधन हुनुपर्ने माग राख्दै आएको सत्ता गठबन्धनको एक महत्वपूर्ण दल जनता समाजवादी पार्टी (जसपा) ले संविधान दिवस नमनाउने भएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले शनिबार एक विज्ञप्ति जारी गर्दै संविधान विभेदकारी भएको भन्दै संविधान दिवस सम्बन्धी कुनै पनि कार्यक्रममा सहभागी नहुने बताएका छन्। आइतबार मनाइने संविधान दिवसमा भाग नलिने उनले बताएका छन्।
‘संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरणलगायतका प्रावधान पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा धेरै धाराहरुमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने, विरोध गर्ने’ विज्ञप्तिमा भनिएको छ।
मधेश केन्द्रित जसपाले संविधान संशोधन हुनुपर्ने माग उठाउँदै आएको छ। उसले संसदमा संविधान संशोधनका लागि विधेयक पनि दर्ता गराएको छ। २०७२ असोज ३ गते संविधान जारी हुँदा मधेश केन्द्रित दलहरुले भने विरोध जनाएर तराइमा विरोध प्रदर्शन गरेका थिए।



























