काठमाडौं, असोज १ । सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।
शुक्रबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताएका हुन्। संघदेखि सातै प्रदेशमा नेकपा (एस) सत्तारुढ दलको रूपमा रहने उनको भनाइ छ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। जस कारण सत्तारुढ दलहरूको आलोचना भइरहेको छ। अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्य दलसँग एकता नगर्नेसमेत बताएका छन्। उनले तत्काल पार्टी एकता नगर्ने बताएका हुन्।
माओवादी केन्द्र, नेकपा (एस) सहित कम्युनिस्ट पार्टीबीच एकता हुन गर्ने भनिएका बेला उनको सो अभिव्यक्ति सार्वजनिक भएको हो।
तर, अध्यक्ष नेपालले आगामी निर्वाचनमा दलहरूबीच चुनावी तालमेल हुने बताए। आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल हुने अध्यक्ष नेपालको भनाइ छ।


























