काठमाडौं, भदौ २७ । सभामुख अग्नि सापकोटाले एमालेका प्रमुख सचेतकहरुसँग छलफल गरेपछि आइतबार दोस्रो पटक सुरु भएको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले अवरोध गरेपछि मंगलबारसम्मका लागि बैठक स्थगित गरिएको छ।
आइतबार दुई पटक बसेको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो। एमाले सांसदहरुले लगातार नाराबाजी गर्दै वेल घेराउ गरेपछि सभामुख सापकोटाले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरे।
आइतबार बैठक चलाउन सभामुख सापकोटाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथमा राखेर एमालेका नेताहरुसँग छलफल गरेका थिए। सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका थिए। तर, सो छलफलमा निस्कर्ष निस्केन।
एमालेले पार्टी विभाजनमा सभामुखको षडयन्त्रमुलक संलग्नता रहेको भन्दै बैठक अवरोध गर्दै आएको छ। आइतबारै बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिका अमर्यादित रुपमा रहेको भन्दै बैठक अवरोध गर्न निर्देशन दिएका थिए।
गत शुक्रबारको बैठकमा उच्छृंखलरुपमा प्रस्तुत भएका एमाले सांसदहरु आइतबार भने संयमित देखिए। आइतबारको बैठकमा अध्यक्ष ओलीले आफ्ना सांसदहरुलाई सीमामै बसेर विरोध गर्न निर्देशन दिएका थिए।


























