काठमाडौं, भदौ २७ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछिको यो पहिलो संसद् बैठक हो। बैठक दिउँसो १ बजे बस्नेछ।
तर, आजको बैठक पनि सहज ढंगले अघि बढ्न नदिने एमालेले तयारी गरेको छ। आफूहरुको विरोधका बीच शुक्रबार सरकारले प्रतिस्थापन विधेयक ल्याएर एकतर्फी संसद चलाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले रुष्ट छ। सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै एमाले आन्दोलित छ।
सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन सहयोगी बनेको आरोप उक्त पार्टीका नेताहरुले आरोप लगाउँदै आएका छन्। पार्टीबाट कारबाही गरिएका १४ सांसद्को कारबाहीलाई १३ दिनसम्म रोकेका सभामुख सापकोटाले दल विभाजन भइसकेपछि मात्रै निर्णय गरिरहनु नपर्ने भन्दै सूचना सुनाएपछि एमाले रिसाएको छ।
सभामुखले गल्ती स्वीकार नगरेसम्म बैठक चल्न नदिन एमाले सांसद् नारदमुनि रानाले बताए।
अदालतमा बिचाराधीन मुद्दालाई एमालेले संसदमा चर्काएको भन्दै आलोचना पनि भइरहेको छ। तर यसको जिम्मेवारी पनि सभामुख सापकोटा नै भएको रानाले बताए।
‘अदालतमा बिचाराधीन मुद्दा २८ गते छिनोफानो हुँदैछ भन्ने जान्दा जान्दै बैठक राख्ने हतारो के थियो। सभामुखको नियत नै मुठभेड गराउने देखिन्छ,’ रानाले भने, ‘अदालतबाट पनि न्याय नपाए सभामुखलाई महाअभियोग लगाउँछौँ।’
एमाले फुटेर माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) ले भदौ ९ गते प्रमाणपत्र नै पाएको छ।


























