भदौ २६ । नेपालमा कोरोना भाइरस संक्रमण हुनेको तुलनामा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार एक हजार ३६८ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा देशभर ९९४ संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा ६ हजार १३७ नमुनाको पिसिआर विधिबाट र तीन हजार ७०३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। त्यसमध्ये ७७७ जनामा पिसिआर र २१७ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणले संक्रमण भएको देखाएको हो। पछिल्ला दिनहरूमा संक्रमण हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढिरहेको छ। शुक्रबार एक हजार १४६ जनामा कोरोना भाइरस संक्रमण हुँदा एक हजार ६६० संक्रमणमुक्त भएका थिए।
यद्यपि, तथ्यांकमा नमुना परीक्षण पनि केही कम भएको देखिएको छ। शुक्रबार १० हजार ९१६ नमुनाको परीक्षण गरिएकोमा शनिबार त्यो संख्या झन्डै एक हजारले घटेको छ। यस दिन नौ हजार ८४० नमुना परीक्षण भएको छ।
यो अवधिमा कोरोना भाइरस संक्रमणबाट १२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितको संख्या २७ हजार ३५५ छ।


























