चितवन १४ भदौ । केन्द्रीय अस्पतालको रुपमा विकास भएको भरतपुर अस्पतालले आइतबारबाट नयाँ पंरमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) पाएको छ। अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ प्राडा कृष्णप्रसाद पौडेलले नयाँ मेसुको जिम्मेवारी पाएका हुन्। यसअघि पनि अस्पतालको मेसु भएर काम गरिसकेका उनी दोस्रोपटक मेसु भएर अस्पतालको जिम्मेवारी सम्हाल्न आइपुगेका हुन्।
प्राडा पौडेललाई स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार मेसुमा नियुक्त गरेका हुन्। यसअघि अस्पतालको ३६ औं मेसु बनेका उनी हाल ४४ औं मेसु बनेका छन्। अस्पतालले स्थायी मेसु पाउन नसक्दा अस्पताल अव्यवस्थित बन्दै गएको छ। नयाँ मेसुको जिम्मेवारी सम्हालेसँगै अब अस्पतालको व्यवस्थापन गर्नुपर्ने जिम्मा पनि प्राडा पौडेलको काँधमा आएको छ।
नयाँ जिम्मेवारी पाएसँगै आफूसँग भएको ज्ञान र क्षमतालाई भरपुर प्रयोग गरी अस्पतालको विकासमा याेगदान दिने प्राडा पौडेलले बताए। यसअघिका गुनासा र समस्यालाई पनि सकभर हल गर्ने गरी काम गर्ने उनले प्रतिवद्धता जनाएका छन्। डा पौडेल करिब दुई दशकयता स्वास्थ्य क्षेत्रमा रहेर विभिन्न भूमिका र जिम्मेवारीमा काम गरिसकेका व्यक्ति हुन्।
डा पौडेल स्वास्थ्य क्षेत्रमा मात्र नभई नेपाली साहित्य क्षेत्रमा पनि क्रयाशील छन्। ‘खुसीहरुको वनवास’ नामक कवित संग्रह प्रकाशन गरिसकेका उनले गतवर्ष ‘कम्मरीदेखि कोभिड कहर’ नामक स्वास्थ्यसम्बन्धी निबन्ध प्रकाशन गरेका थिए। लगत्तै तेस्रो कृतिको तयारीमा छन्।


























