काठमाडौं, भदौ ११ । मानिसलाई ईँटा भट्टामा हालेर पोलेको अभियोगमा थुनामा रहेका कांग्रेस नेतासमेत रहेका मोहम्मद अफ्ताब आलमविरुद्धको मुद्दा शुक्रबार पेशीमा चढे पनि सुनुवाइ नभइ स्थगित भएको छ। सर्वोच्च अदालतको पेशी नम्बर ८ मा शुक्रबार आलमविरुद्धको मुद्दाको पेशी चढेको थियो। तर, आलमको तर्फबाट बहस गर्ने कानुन व्यवसायी पुष्प पौडेल बिरामी परेपछि पेशी स्थगित भएको हो।
सर्वोच्चका न्यायाधीशहरु प्रकाशमानसिंह राउत र प्रकाश कुमार ढुंगनाको इजलासमा सो मुद्दाको सुनुवाइ हुँदै थियो। तर, अधिवक्ता पौडेल बिरामी परेपछि पेशी स्थगित भएको हो। सर्वोच्च अदालतले सो मुद्दाको पेशी स्थगित भएको जनाएको छ।
२०६४ को संविधान सभा निर्वाचनका क्रममा आलमले दुईजना मानिसलाई ईँटा भट्टामा हालेर पोलेको आरोप छ। उनी सो आरोपमा पुर्पक्षका लागि थुनामा छन्। रौतहटबाट २०७४ को प्रतिनिधिसभा चुनावमा कांग्रेस उम्मेदवारका रुपमा निर्वाचित आलम जेल परेपछि सांसद पदबाट निलम्बित छन्।


























