काठमाडौं, भदौ ३ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल छलफलमा जुटेका छन्।
देउवाले नेपाल पक्षले एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएको भोलिपल्ट मन्त्रिपरिषद् विस्तारबारे छलफल थालेका हुन्। अहिले देउवा, दाहाल र नेपालबीच छलफल जारी रहेको छ।
सरकार गठन भएको एक महिनाभन्दा बढी हुँदा पनि मन्त्रिपरिषद् विस्तार नगरेको भन्दै आलोचना भइरहँदा देउवाले सत्ता टिकाउन अध्यादेश ल्याएर एमाले र जसपा फुटाउन मार्ग बनाइदिएका थिए।
ती दल फुटेलगत्तै नेता त्रय मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफलमा जुटेका हुन्। मन्त्रालय भागबण्डा मिले आजै मन्त्रिपरिद्ले पूर्णता पाउन सक्ने जनाइएको छ।
तथापि नेपालको प्रस्तावित समाजवादी पार्टीले बैधता पाउन केही दिन लाग्ने भएकाले तत्काललाई माओवादी र जसपाको उपेन्द्र यादव समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने कि भन्नेमा छलफल केन्द्रित भएको स्रोतले जनाएको छ।


























