चितवन, भदौ ३ । जिल्लामा माछा विकासका लागि रु दुई करोड ८० लाख विनियोजन गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मत्स्य पोखरी क्षेत्र विस्तारका लागि रु दुई करोड ५० लाख र पुरानो मत्स्य पोखरी मर्मत तथा सम्भारका लागि रु ३० लाख बजेट स्वीकृत गरिएको छ।
कार्यालय प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा.दयाराम चापागाईँका अनुसार जिल्लाभर ७५ बिघा जलाशय निर्माणका लागि रु दुई करोड ५० लाख विनियोजन गरिएको हो। प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जिल्लामा माछा प्रवद्र्धन कार्यक्रममा चालु आर्थिक वर्षका लागि सो बजेट विनियोजन गरेको हो। उनका अनुसार अनुदान कार्यक्रममा मात्रै रु पाँच करोड ५० लाख छ। कार्यालयले चालु आर्थिक वर्षमा बाख्रा, गाईभैँसी प्रवद्र्धन र यान्त्रीकरणमा पनि जोड दिएको छ। बाख्रा प्रवद्र्धनअन्तर्गत रु ७५ लाख बजेट रहेको चापागाईले बताए।
त्यस्तै भरतपुर महानगरपालिका–२७ मा भैँसी प्रवद्र्धन गर्न रु १५ लाख, रत्ननगर नगरपालिका–२ मा गाईको प्रवद्र्धन गर्न रु १५ लाख, कबुलियती वन तथा पशु विकास कार्यक्रमका लागि रु १० लाख, घाँस खेतीको स्रोत केन्द्र स्थापनादेखि प्रवद्र्धनका लागि रु १९ लाख ६६ हजार मन्त्रालयबाट स्वीकृत भएको उहाँले जानकारी दिए।
कार्यालयले साना कृषक र मझौला कृषक लक्षित गाईभैँसी प्रवद्र्धनको कार्यक्रमअन्तर्गत साना कृषक लक्षित गाईभैँसी प्रवद्र्धनमा रु ३५ लाख र मझौला कृषक लक्षित गाईभैँसी प्रवद्र्धन कार्यक्रममा रु ३२ लाख बजेट विनियोजन गरिएको छ। जैविक सुरक्षासहितको खोर र गोठ निर्माण सुधारका लागि रु ४० लाख रकम रहेको छ।
यसैगरी पशु स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न रु ३६ लाख ७९ हजार बजेट स्वीकृत गरिएको छ। सङ्घीय सरकारको समन्वयमा गाईभैँसीमा लाग्ने खोरेत रोगविरुद्धको खोप कार्यक्रममा रु २२ लाख विनियोजन गरिएको चापागाईँको भनाइ छ। चापागाईले भने, “पशुपन्छीमा लाग्ने सङ्क्रमण रोगविरुद्धको खोप, बर्डफ्लु नियन्त्रण, इपिडेमियोलोजिकल रिपोर्टिङलगायतका शीर्षकमा रु १४ लाख ७९ हजार आएको छ।”
यो जिल्ला माछा, मासु, अण्डामा आत्मनिर्भर रहेको छ। जिल्लामा माछापोखरी एक हजार ५००, मत्स्य ह्याचरी १०, माछा दाना उद्योग एक, कुखुराका ह्याचरी १०५, दुग्ध उत्पादन सहकारी संस्था १०९, दुग्ध प्रशोधन केन्द्र आठ र पशुपन्छी उद्योग दुई रहेका छन्।


























