चितवन ०२ भदौ । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको तार जथाभावीरुपमा काट्ने गरेको घटनाप्रति इन्टरनेट सेवा प्रदायक संघ नेपाल (इन्टरनेट सर्भिस प्रोभाइडर एसोसियसन अफ नेपाल)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विद्युत प्राधिकरणले विद्युत पोलको भाडा बढाउने बहानामा अत्यावश्यक दूरसञ्चार सेवाबाट आम उपभोक्तालाई बञ्चित गराउने काम भइरहेको संघले बुधबार विज्ञप्ति निकालेर जानकारी गराएको हो।
प्राधिकरणले सुनियोजितरुपमा नै दूरसञ्चार उपकरणलाई नियन्त्रणमा लिएर इन्टरनेट सेवा नै अवरुद्ध गराएको संघको आरोप छ। बुधबार प्राधिकरणको भरतपुर वितरण केन्द्रका कर्मचारीले इन्टरनेटको तार (फाइबर) काटेर कतिपय सेवाग्राहीलाई सेवाबाट जानाजान बञ्चित गराइएको संघका अध्यक्ष सुधीर पराजुलीले बताए। इन्टरनेट सेवा अवरुद्ध हुँदा अनलाइन शिक्षा र वैंकिङ कारोबारलगायत इन्टरनेटको माध्यमबाट गर्नुपर्ने काम पूर्णरुपमा प्रभावित बन्न पुगेको उनले बताए।
पोलको भाडादरबारे उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयसँग छलफल चलिरहेकै क्रममा भरतपुर वितरण केन्द्रबाट भएको उक्त काम निन्दनीय भएको अध्यक्ष पराजुलीले बताए। प्राधिकरणका कर्मचारीबाट इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीमाथि धम्कीपूर्ण भाषा प्रयोग गरेको हुँदा सम्बन्धित निकायप्रति ध्यानाकर्षण गराएको उनको भनाइ छ।
विद्युत प्राधिकरणले पोलको भाडा बढाएमा त्यसको असर सेवाग्राहीलाई पर्न जानेसमेत संघले चेतावनी दिएको छ। ‘पोलको भाडा बढेर इन्टरनेट सेवा प्रदायक कम्पनीलाई घाटा पर्ने होइन, त्यसको असर त उपभोक्तालाई पर्न जान्छ,’ नाम नबताउने सर्तमा संघका एक सदस्यले भने, ‘पोलको भाडा बढाउँदा उपभोक्तालाई शुल्क महँगो पर्न जान्छ।’
विज्ञप्ति हेर्नुहोस्ः




























