काठमाडौं, साउन ३० । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बन्नेछ। बैठकले महाधिवेशनको परिमार्जित मिति तय गर्न सक्ने केन्द्रीय सदस्य गुरू घिमिरेले जानकारी दिए।
भदौ १६–१९ का लागि निर्धारित १४औँ महाधिवेशन हुने सम्भावना टरेपछि कहिले र कसरी महाधिवेशन गर्ने भन्नेमा कांग्रेसमा विवाद छ। तथापि हाल निर्धारित कार्यतालिकाभित्र सातै प्रदेशका कुनै न कुनै वडाको भएपनि अधिवेशन सकेर यसलाई निरन्तरता दिनेमा लगभग एकमत छ। यद्यपि त्यसरी शुरू हुने अधिवेशन केन्द्रमा महाधिवेशनसम्म आइपुग्दा कुनै मिति निर्धारण हुने भन्नेमा मतैक्यता नभएको घिमिरेले बताए।
संस्थापन पक्षले मंसिरभित्र महाधिवेशन गर्नु पर्ने मनसाय बनाइरहँदा इत्तर समूहले असोजभित्र महाधिवेशन सक्नु पर्नेमा दबाब बढाउँदै लगेको छ। यस्तै आजको बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदन पनि पारित गर्ने घिमिरेले बताए।


























