बुटवल, साउन २७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन्। प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल हुनै लागेका बेला पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका हुन्।
साउन १९ गते विपक्षी गठबन्धनका ३४ सांसदको समावेदनका आधारमा प्रदेश प्रमुख शेरचनले आजै दिउँसो १ बजेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका थिए। प्रतिपक्ष ४ दलले संसदमा तेस्रो पटक मुख्यमन्त्री शंकर पोखरेलविरूद्व अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
आजको विशेष अधिवेशनमार्फत मुख्यमन्त्री पोखरेलविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ। सरकारसँग ३८ मत मात्र रहेको प्रदेशसभामा विपक्षीले सभामुखसहित ४२ मत रहेको दाबी गर्दै आएका छन। प्रदेश सभामा अहिले ८० सांसद कायम छन्।
८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्यमात्र छन्। विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन्।


























