काठमाडौ, साउन २५ । भदौमा तोकिएको महाधिवेशन पनि लगभग सर्ने भएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक डाकेका छन्।
आज अपराह्न ३ बजे महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा डाकिएको बैठकले महाधिवेशन सुनिश्चितता गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिने एक नेताले जानकारी दिए।
आजै नेपाली कांग्रेसको संस्थापन इतर समूहको जिल्ला समूहको भेला हुँदैछ। वरिष्ठ नेता पौडेल तथा कृष्ण सिटौला पक्षधर जिल्ला सभापतिहरुको बैठक दिउँसो ठमेलस्थित एक होटलमा बस्ने नेता जगदीश्वर नरसिंह केसीले जानकारी दिए।
बैठकले कांग्रेस महाधिवेशन समयमै गर्न वा विशेष अधिवेशन गरेर भए पनि पार्टीलाई अवैध हुनबाट जोगाउन सभापति शेरबहादुर देउवालाई दबाब दिइने उनले बताए।
कतिपय जिल्लाको क्रियाशील सदस्यता विवाद हल हुन नसक्दा कांग्रेसको भदौमा हुने भनिएको महाधिवेशनका कार्यतालिका प्रभावित भएका छन्। अहिलेसम्म वडा तथा पालिकास्तरको अधिवेशन समेत नभएपछि कांग्रेसमा संस्थापन इतर पक्ष सभापति देउवासँग रुष्ट भएको छ।


























