चितवन, साउन २४ । चितवनमा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म लम्ब्याइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज (आइतवार) एक आदेश जारी गर्दै निषेधाज्ञा साउन ३२ गतेसम्म लम्बयाउने निर्णय गरेको हो।
कोभिड १९ संक्रमणको जोखिम कायमै रहेको र यस अघिको आदेशलाई नै निरन्तरता दिँदै निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।
यस्तै, निषेधाज्ञामा पुनः कडाइ गरिएको छ। प्रशासनको आदेशअनुसार खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा, मासु, अण्डा, चल्ला, दाना खान पकाउने ग्याँस पसल, एग्रोभेट, बीउबिजन, रासाायनिक मल र भेटेनरी औषधि पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने व्यवस्था गरिएको छ। दूध डेरीको हकमा बेलुका ५ बजेदेखि ७ बजेसम्म समेत सञ्चालन गर्न पाइने छ।
यस्तै अन्य पसलहरु आइतबार, मंगलबार र बिहिबार दिउँसो १२ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनको आदेशमा उल्लेख छ। यस्तै निजी तथा सार्वजनिक सवारी साधनको हकमा जोर गते जोर नम्बर र विजोर गरे विजोर नम्बर मात्रै सञ्चालन गर्न पाइने छ।





























