काठमाडौं, साउन २४ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबारका लागि सारिएको छ। नेपाल-खनाल समूहले एकताका लागि बैठक रोकेर संवादमा जुट्न आग्रह गरेपछि केन्द्रीय कमिटी बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो। विधान महाधिवेशनको तयारी भन्दै आज बैठक बस्ने तय भएको थियो।
एमालेको स्थायी कमिटी बैठकले विभिन्न विभागहरुलाई पूर्णता दिने, सदस्यता नवीकरण गर्ने तथा पालिकास्तरको अधिवेशनको मिति तोक्नेलगायतका निर्णय गरिसकेको छ। अबको केन्द्रीय कमिटी बैठकमा विधान अधिवेशनको तयारीबारे छलफलको एजेण्डा छ।
संस्थापन पक्षले सहमतिको प्रयास नगरेको भन्दै नेपाल पक्षले समेत गत बिहीबार र शुक्रबार केन्द्रीय कमिटी बैठक गरेको छ। बैठकले समान आधारमा एकताका लागि संस्थापन पक्षसँग संवाद गर्नेलगायतका निर्णय गरेको थियो।
तर, संस्थापन पक्ष अझै पनि एकताका लागि अग्रसर नभएको भन्दै नेता नेपालले अध्यक्ष ओलीलाई ‘सुध्रिने’ मौका भन्दै एकताका लागि सात दिनको समय दिएका छन्।
संस्थापन पक्षले आजको बैठक स्थगित गरेपछि दुबै पक्षका नेताहरु आज आन्तिरक तथा बहुपक्षीय छलफलमा जुट्दैछन्। विघटित कार्यदलका सदस्यहरु आज पनि औपचारिक एवं अनौपचारिक छलफलमा बस्दैछन्। दुबै पक्षबीचको छलफलले सकारात्मक दिशा लिए अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुन सक्ने तामाङले बताए।
०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ अघिको अवस्थाबाट पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल(खनाल पक्ष संघर्षरत छ।
तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउँदा पनि कार्यदलमा भएको १० बुँदे सहमतिबमोजिम पार्टीका बैठक अघि बढाएको भन्दै नेपालसँग ओली सकारात्मक छैनन्।


























