काठमाडौं, साउन १० । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
जसपाको विवाद निरुपण गर्न निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’ रोक्न माग गर्दै ठाकुर पक्षले सर्वोच्चमा रिट हालेको थियो। सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगलाई विवाद निरुपणको फैसला सुनाउन बाटो खुलेको छ।
न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ। त्यस्तै निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा साउन ११ (भोलि) सबै कार्यकारिणी समिति सदस्यलाई उपस्थित हुन आदेश दिएको छ। तर निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध ठाकुरले सर्वोच्च अदालतमा रिट दिएका थिए।


Facebook Comments


























