काठमाडौं, साउन ८ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले एमालेभित्रको विवादमा चलखेल नगर्न अन्य दलका नेताहरुलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै प्रतिनिधिसभाको बैठकमा नेता नेम्वाङले एमालेभित्रको विवाद समाधानमा लागिरहेको अवस्थामा अन्य दललाई चलखेल नगर्न आग्रह गरेका हुन्। उनले भने, ‘ह्वीप नलाग्ने, अनुशासनको कारबाही नहुने लगायतका विषय सर्वोच्च अदालतको आदेश एकातिर छ। तर निरन्तर हामीभित्रको समस्या समाधान गर्न लागिरहेका छौँ। समस्या समाधान गर्छौं। यति आग्रह हो। अरु दलले यसबारेमा शुभकामना दिनुहोस्। त्योदेखि बढी गर्दा अन्यथा प्रश्न उठ्छन्।’
नेता नेम्वाङले सरकारलाई राम्रा काममा समर्थन गर्ने तर गलत काममा खबरदारी गर्ने बताए। ‘जिम्मेवार प्रतिपक्षको रुपमा बेठीक कुरालाई बेठीक भन्छौं। तर जिम्मेवारीपूर्वक अघि बढ्छौँ। ‘उनले भने, ‘प्रत्येक मन्त्रालयको अनुगमन गर्छौं। सरकार कहिले के गरिराखेको छ त्यो सबै मूल्याङ्कन गर्छौं।’
नेता नेम्वाङले प्रधानमन्त्रीलाई सहयोग गर्न तयार रहेको तर त्यो पार्टीगत रुपमा मात्रै हुने बताए। उनले सहयोगका नाममा दलभित्रका अन्य नेताहरुलाई प्रयोग नगर्ने समेत दाबी गरे। उनले भने ‘पार्टीगत रुपमा तपाईंको पार्टीसँग सहयोग रहन्छ। हार्दिक सम्बन्ध रहन्छ। तर एउटा संस्कार बसाल्न लागेका छौँ। तपाईंको पार्टीसँग तपाईंमार्फत् सम्बन्ध विस्तार गर्छौं। तपाईंको पार्टीभित्रको छुट्टै नेताहरुसँग छलफल गर्दैनौँ।’
सर्वोच्च अदालतको फैसला संविधानविपरीत रहेको भएपनि आफूहरूले फैसला मानेर अघि बढ्ने बताए। उनले प्रधानमन्त्री देउवाका पक्षमा मतदान गर्न कांग्रेस र माओवादी केन्द्रले ह्वीप जारी गरेको तर एमाले सांसदहरूका हकमा ह्वीप लागू हुन नहुने भनेको भन्दै उनले सोधे, ‘आफ्नो पार्टीभित्र अनुशासन चाहिने अरु दलभित्र भने दलले हैन अरु ढंगले निर्णय हुनुपर्छ भन्ने नै तपाईंहरुको धारणा यही हो ?’
अर्को दलभित्र चलखेल गर्ने संस्कार अघि बढ्यो भने त्यसले अन्य दललाई समेत समस्या हुने उनले बताए। उनले भने, ‘अहिले समस्या हाम्रोमा मात्रै छ। तर यही संस्कारका रुपमा स्थापित भयो भने हामी सबैलाई कति अप्ठ्यारो पार्छ ?’
अहिलेको सरकार जनादेशबाट आएको सरकार नभएकाले जनताप्रति उत्तरदायी हुनेमा समेत उनले आशंका व्यक्त गरे। उनले भने, ‘जनादेशबाट हैन, अदालतको आदेशबाट सरकार बन्यो। जनताको जनादेशबाट आएको सरकार जनतासँग जोडिएको हुन्छ। अदालतको आदेशपछि आएको सरकार जनताप्रति जोडिन अलि समस्या पो हुने हो कि ?’
नेता नेम्वाङले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गर्न खोजेको हल्ला सुनेको भन्दै त्यसो नगर्न समेत आग्रह गरे। उनले सरकारले पूर्णता पाउन नसकेको भन्दै संविधानअनुसार २५ जनाभन्दा बढी मन्त्री नबनाउन समेत आग्रह गरे।


























