काठमाडौं, साउन ५ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा अपराह्न ३ बजे बस्ने बैठकले सोमबार प्रष्टीकरण सोधिएका २२ सांसदलाई थप कारबाही गर्ने तयारी भएको छ।
सोमबारको बैठकले माधव नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधे पनि उनीहरुले यसको जवाफ दिएका छैनन्।
सांसद विरोध खतिवडाका अनुसार स्पष्टीकरणको जानकारी मिडियामा मात्रै आएको तर सम्बन्धित व्यक्तिलाई अहिलेसम्म केही पत्र नआएको दाबी गरेका छन्।
सोमबारदेखि जारी एमाले बैठकमा पार्टी विवाद समाधानका उपाय, संगठन निर्माण र विधान अधिवेशनका विषयमा छलफल जारी रहेको रहेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
यसअघि सोमबारको बैठकले पार्टी एकताका लागि कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव पनि अनुमोदन गरेको थियो। ०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ का साविकका कमिटी व्यूँताएर पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल-खनाल पक्ष संघर्षरत छ।
तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै नेपाल-खनाल पक्षसँग संस्थापन पक्ष सकारात्मक छैन। पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालबिनाको एमाले एकताको वकालत गर्न थालेका छन्।


























