काठमाडौं, साउन २ । सत्तारूढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कांग्रेसको संसदीय दलको बैठक पहिलोपटक बस्न लागेको हो।
प्रधानमन्त्री देउवाले आइतबारका लागि दलको बैठक बोलाएको सांसद डा.डिला संग्रौलाले जानकारी दिइन्। उनका अनुसार बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै समसामयिक विषयमा छलफल हुनेछ।
‘कांग्रेस सरकारको नेतृत्वमा गएको छ। अब आगामी दिनमा गर्नुपर्ने काम, संसदमा निर्वाह गर्नुपर्ने भूमिका आदिबारे छ्लफल हुन्छ,’ डा. संग्रौलाले भनिन्।
कांग्रेस सांसद प्रकाश रसायली ‘स्नेही’का अनुसार बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बस्ने छ।
‘दलको कार्यालयमा सामाजिक दूरी कायम गरेर मिटिङ बस्न गाह्रो हुन्छ। त्यही भएर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राख्न लागिएको हो,’ उनले भने।


























