चितवन, असार २४ । निरन्तरताको वर्षाका कारण माडीका १६८ घर डुवानमा परेका छन्। जिल्ला आपतकालीन सञ्चालन केन्द्रका अनुसार माडी नगरपालिका–१, ३, ४, ६ र ७ का ती घर डुवानमा परेका हुन्।
उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। माडी नगरपालिका–१ मा रहेका १६० घरधुरीलाई पाँच पाण्डव मध्यवर्ती वनको भवनमा र वडा नं ३ बघौडाका ८ घरधुरीलाई सार्वजनिक स्थानमा राखिएको छ। अन्य स्थानका स्थानान्तरणको काम भइरहेको केन्द्रले जनाएको छ। निरन्तरको वर्षाका कारण माडीका खोलामा पानीको सतह बढेसँगै माडी भरतपुर सवारी आवागमन रोकिएको छ।

यसैबिच, जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै नारायणी, राप्ती, रिउलगायत ठूला साना नदीमा पानीको सतह बढिरहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।


























