चितवन, असार १६ । चितवनमा पछिल्लो समयमा लागुऔषधको कारोबार र ओसारपसारमा वृद्धि भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकानुसार गत आर्थिक वर्ष ०७६/०७७ भन्दा चालु आर्थिक वर्षमा लागुऔषधको कारोबार बढेको देखिएको हो।
लागुऔषध कारोबारमा गत वर्ष प्रहरीले पुरुष १२० र महिला आठ गरी १२८ जनालाई पक्राउ गरेको थियो। उक्त वर्ष लागुऔषध कसुरमा ८५ वटा मुद्दा दर्ता भएका थिए।
प्रहरीले चालु आर्थिक वर्षमा दुई बालकसहित पुरुष १३० र महिला ६ गरी १३६ जनालाई पक्राउ गरेको छ। असारको दोस्रो सातासम्म ९५ वटा मुद्दा दर्ता भएका छन्। प्रयोगकर्ता र कारोबार बढेसँगै लागुपदार्थको बरामद परिमाणमा पनि वृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको छ।
गत वर्षभन्दा यो वर्ष लागुऔषध ओसारपसार र कारोबार बढेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए। पछिल्लो समय २५ देखि ३५ वर्षका व्यक्ति लागुऔषध सेवन, कारोबार र ओसारपसारमा बढी संलग्न रहेको अनुसन्धानबाट देखिएको थापाको भनाइ छ। लागुऔषध कारोबारमा संलग्नलाई कसुरको प्रकृति, परिमाणका आधारमा सोहीअनुसार मुद्दा चलाई सजाय हुने थापाले जानकारी दिए।


























