काठमाडौं, असार १३ । नेकपा एमालेको स्थायी कमिटी बैठक केहीबेर अघि सकिएको छ। आजको बैठकमा पार्टी एकताका लागि भइरहेका प्रयासका विषयमा बढी केन्द्रित भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
उनले पार्टी एकताका लागि उच्च तहमा छलफल गर्न पार्टीको १० औँ महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बोलाइएको जानकारी दिए। पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा संक्षिप्त तर गहन छलफल भएको बताए।
एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला ओलीले त्यसलाई बेवास्ता गर्दै आयोजक कमिटीको बैठक बोलाएका हुन्।
बैठकमा भएको छलफलबारे जानकारी दिँदै ज्ञवालीले भने, ‘बैठकमा हामीले पछिल्लो राजनीतिक स्थिती, कोभिड महामारीको अवस्था, प्राकृतिक विपत्तीहरु र राष्ट्रिय राजनीतिको विभिन्न आयामहरुका विषयमा संक्षिप्त तर गहन रुपमा छलफल गरेका छौँ। यो विषयमा थप केहि निर्णयहरु गर्न आवश्यक भएको र थप अझ फराकिलो र उच्च तहबाट छलफल गरेर केहि निर्णयहरु निकाल्नुपर्ने भएकाले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौँमा बस्ने रि बैठक बोलाइएको छ।’
त्यसैगरी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई बाध्यात्मक अवस्था आएर कारवाही गरेको समेत उनले बताए।


























