राजनकुमार पौडेल
हामी नेपाली, हामी विश्वका एकदमै भाग्यमानी मानिस हौँ, किनकि हामीलाई प्रकृतिले सबै कुरा दिएको छ। मानवजातिलगायत हरेक प्राणीहरुको उत्पति र विकास प्रकृतिसँगै हुँदै आएको पाइन्छ। संसारमा प्रकृतिले ठगेका देश र भू-भागहरु धेरै छन्। तर हामीलाई प्रकृतिले सबै कुरा दिएको छ। हामीसँग कृषिको लागि तराईको उर्वरा भूमि छ। उचाइ र हावापानीमा विविधता र सोहीअनुसारको उपभोग्य सम्भाव्य वस्तुहरु छन्। पहाड, जंगल, ताल, नदी र खोलानाला अनि हिमश्रृंखलाहरु यथेष्ट छन्।
संसारका ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमालमध्ये ८ वटा त नेपालमै पर्छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विविध किसिमको धरातल, हावापानी र आकर्षक पर्यटकीय स्थलहरु छन्। यति सानो देशमा १२२ थरी भाषाभाषी विभिन्न समुदायहरु आ-आफ्नै सँस्कृति र रहनसहनमा एक-आपसमा मिलेर बसेका छन्। हामीमा धार्मिक र जातीय युद्द छैन। कहिलेकाहीं केही झुण्डहरुले आफ्नो व्यक्तिगत राजनीतिक फाइदाको लागि जातीय द्वन्द्व मच्चाउन नखोजेको होइन। तर नेपाली जनताले त्यो सबै अब बुझिसकेका छन् । प्राकृतिक स्रोतले भरपुर नेपालका हामी नेपाली जनता विश्वकै धनी देशका सुखी नेपाली हौँ भनी छाती फुलाएर हिँडनु पर्ने, तर अपसोच अझै पनि संसारको गरिब देशको सूचीमा पर्ने नेपाली भनी चिनिनु परेको छ।
संसारका विभिन्न अनुसन्धानकर्ताहरुले नेपालमा खनिज पदार्थको प्रबल सम्भावना रहेको भन्ने प्रमाणितसमेत गरिसकेका छन्। अमेरिकाको हार्डवर्ड युनिभर्सिटीका अनुसन्धानकर्ता (रिसर्चर) माइकेल ह्यारमनले पश्चिम नेपालको विभिन्न पहाडहरुमा अनुसन्धान गरी ती पहाडहरुमा कोइला, फलाम र सुनखानी रहेको भनी अनुसन्धानको तथ्यांक पेश गरेका थिए।
त्यस्तै नेपालका १० वटा ब्लकहरुमा पेट्रोलियम पदार्थहरुको खानी रहेको पनि चिनियाँ अनुसन्धान टिमले प्रामाणित गरी नेपाल सरकारलाई बुझाएको थियो। ती खानीहरु क्रमशः धनगढी, कालिकोट, नेपालगञ्ज, लुम्बिनी, चितवन, वीरगञ्ज, मलंगवा, जनकपुर, राजविराज र विराटनगर थिए, जहाँबाट पेट्रोल निकाल्न सकिन्छ। त्यस्तै बझाङ जिल्ला र दैलेखको शीरस्थान र नाभिस्थानमा निरन्तर बलिरहेको ग्याँस र पादुकास्थानमा खोलामा तैरिरहेको तेलले हाम्रो भूगर्भमा ग्याँसको सम्भावना पनि प्रचुर मात्रामा रहेको भन्ने प्रमाणित हुन्छ।
हिमालय र उच्च पहाडी क्षेत्रमा रहेका जडिबुडीहरु त्यसै खेर गरहेका छन्। अहिले उक्त ठाउँमा बसोबास गर्ने गरिब किसानहरु ती जडिबुटी फाँडेर भारतको लागि जडिबुटी संकलन गर्ने बिचौलियाहरुलाई घाँसको मूल्यमा हिमाली जडिबुटीहरु बेचिरहेका छन्। नेपालको त्यही जडिबुटीहरु लगेर प्रशोधन गरी भारतले आफ्ना उत्पादन बनाएर विश्व बजार खाइसकेको छ। नेपालका कच्चा पदार्थहरुलाई प्रशोधन गरी आफ्नो उत्पादन निकालेर विदेश निर्यात गरी, भारतले खर्बौँ डलर आफ्नो देशमा भित्र्याउन सफल भएको छ।
यसमा म एउटा सानो उदाहरण दिन चाहन्छु, – तनहुँको ढोरफिर्दी गाबिस मालेबगर (धामिकुना) भन्ने ठाउँमा २०४० सालमा सुरौदी खोलासँगै एउटा पहाडमा ठूलो पहिरो गयो। ( म सानै छँदा मेरो काका स्याङ्जाको टक्सारबाट तनहुँको ढोरफिर्दी भन्ने ठाउँमा बसाइँ जानुभएकोले काकाको घरमा हिँडेर जाँदा सो ठाउँ बाटोमा पर्ने भएकोले मेरो आफ्नै आँखाले देख्ने मौका मिलेको थियो)।
त्यो पहिरोबाट खरी ढुङ्गामात्र निस्केर खोला सेतै भयो। उक्त पहिरो देखेर खाली सीसा उठाउने बहानामा नेपाल पसेको RAW को एउटा एजेण्ट विकल सबसेना भन्नेले Hindustan Unilever लाई खबर गर्यो। (यो पनि जानिराख्नुस् कि, खाली सीसी, कबाडी, जुत्ता–चप्पल उठाउने, साडी- कुर्था-कपडा बोकेर गाउँ गाउँ डुल्ने, कपाल काट्ने हजामका रुपमा नेपाल खटाइएका RAW का एजेण्टहरु नेपालमा गल्ली, गल्ली र गाउँ-गाउँमा छन्, यस बारेमा मैले पहिलाका अंकहरुमा पनि लेखिसकेको छु।) त्यो पहाडको पहिरोबाट निस्केको खरी ढुङ्गा उठाइ अनि पछि डाँडै सकिने गरी खनेर, सबै खरी ढुङ्गा Hindustan Unilever ले वर्षौँ लगाइ लाखौँ टन सित्तैमा भारत लिएर गयो। र, त्यसबाट हाम्रा नेपाली नारीहरुहरलाई अति मन पर्ने Fair & Lovely क्रिम बनायो।
नेपालबाट सित्तैमा उठाएर लगेको खरी ढुङ्गाले क्रिम र पाउडर बनाइ हाम्रै नेपाली नारीहरुको करोडौं रुपैयाँ लुट्यो र अहिले पनि लुटिरहेकै छ। अहिले हिमाली जडिबुटीको हालत त्यस्तै छ। हामीसँग जता पनि प्राकृतिक स्रोतहरुको भण्डारै भण्डार छन्। तर यसलाई बुझ्ने, सही सदुपयोग गर्न सक्ने विवेकशील प्राणी (दक्ष नेता) अनि आफूसँग के छ र त्यसलाई के कसरी सदुपयोग गर्न सकिन्छ भन्ने जानकार जनप्रतिनिधिहरु कोही भएनन्। देशको स्रोत र साधन कुनै पनि व्यक्ति विशेषले आफ्नो मनोमानी तरिकाले केही गर्न सक्दैन। जसमा सरकारको सहमति, सहयोगको खाँचो पर्छ।
यदि सरकारमा पदासिन व्यक्तिहरुलाई साँच्चै नै देश बनाउने सोच हो भने यस्ता कुराहरुमा ध्यान जानु जरुरी छ। यी क्षेत्रमा काम गर्न सक्ने विज्ञ नेपालीहरु धेरै छन्। तर सरकारले उनीहरुलाई चिन्दैन। गर्न सक्नेलाई अवसर दिने, नीति नियम बनाउने र सहजताको वातावरण मिलाउने हो भने हाम्रो देशको अर्थतन्त्र र देशको विकासमा समय लाग्दैन। यी कुराहरु बुझेको देश हाँक्ने नेता (लिडर) देशले कहिले पाउला? सबैलाई सत्ताकै मोह छ।
देशका ९० प्रतिशत नेताहरु करोडौंमा बिकेर भारतको लागि काम गर्छन् र जनताको अगाडि राष्ट्रवादको नाटक गरी जनता झुक्काएर देश लुटेका लुट्यै छन्। केही गर्न सक्ने र दूरदृष्टि भएका नेता निस्कँदा उसलाई सबै मिलेर पछार्ने प्रवृत्तिले देशले काँचुली फेर्न सकेको छैन। देशलाई आफ्नो बाउको बिर्ता सम्झेर लुछेको लुछ्यै छन्। अनि हामी जनता हेरेको हेर्यै छौँ। जनतालाई चित्त त बुझेको छैन। तर, चुनाव आएपछि फेरी दिमाग divert गरी मेरो पार्टीको नेता भनी तिनै भ्रष्ट र निकम्माहरुलाई भोट हालेको हाल्यै छौँ। र, तिनै सीमित व्यक्तिहरुलाई कुर्सीमा थमाएको थमायै छौँ।
फेरी पनि चुनाव आउँदै छ, कुनै दूरदृष्टिवालाले जितोस् भन्ने मेरो चाहना हो।
हामी भन्छौँ नेपाल गरिब देश, सानो देश, भूपरिवेष्ठित देश।
के हो यो गरिब देश भनेको? के हो यो सानो देश भनेको? के हो यो भूपरिवेष्ठित देश भनेको?
आ-आफ्नो सोच हो। तर मेरो बिचारमा विकासको लागि देश सानो हुनु र भूपरिवेष्ठित हुनुले खासै फरक पार्दैन।
विश्वका २३४ देशहरु मध्ये नेपाल ठूलोबाट ९५ नम्बरमा पर्छ। नेपालभन्दा साना देशहरु १३९ वटा छन्। र नेपाल जस्तै भूपरिवेष्ठित तर अति विकसित देशहरु पनि छन्।
(https://www.worldometers.info/geography/largest-countries-in-the-world/)
सानो देश, भूपरिवेष्ठित देश विकास नहुने हो भने ती अति विकसित देश कसरी विकास भए त? विकासको लागि त सुशासन चाहिन्छ।
देश विकासको लागि सक्षम नेतृत्व चाहिन्छ। आफू, आफ्नो राजनीति स्वार्थ, पद, आफ्नो परिवार, नातागोता, र आउरे-भाउरे मात्र सोच्नेले देशको बारेमा केही गर्दैन। उनीहरु जनता झुक्काउन, सिर्फ ठूला–ठूला कुरा गर्न सक्छन्, धेरै बोल्न सक्छन्, तर देशको लागि गर्न केही पनि गर्न सक्दैनन्। उनीहरुको स्लोगान भनेको हामी सानो देशका जनता, गरिब देशका गरिब जनता भनी विदेशीसँग भिख मागी हिँडछन्। अनि नेपाल रित्याउने खेल खेलेका विदेशी दलालहरु एनजिओ र आइएनजीओको नाममा सहयोगको भिख दिएजस्तो गरी नेपाललाई लुटेको लुट्यै छन्।
नेपाल दुई ढुङ्गाको तरुलजस्तै भएर विकास भएन भनी सधैँ भारत र चीनसँग नेताहरु गुहार मागिरहन्छन्। हातमा बत्ती लिएर आगो माग्दै हिँडछन्। देश सानो भयो भनेर कसैको हैकमता र डर त्रासमा रहनु बेकार र बकबासी कुरा हो। सबै देशको आ-आफ्नो स्वायत्तता हुन्छ। भारतका प्रधानमन्त्री ठूलो र नेपालका सानो भन्ने हुँदैन। रसिया र क्यानाडाको पनि प्रधानमन्त्री नै हो। र, नेपाल र हैटीको पनि प्रधानमन्त्री नै हो। सबैको पदीय हैसियत र पदीय सम्मान उत्ति नै हो।
यी त भए लामो दूरदृष्टिका साथ अर्थतन्त्र सुधार गर्ने भन्ने मोटामोटी केही कुरा, तर देशको GDP बढाउन र देशको आर्थिक पक्ष मजबुत बनाउन के गर्नुपर्छ भन्ने विषयमा मेरो केही तर्कहरु राख्न चाहन्छु।
म जापानको लागि पर्यटन दुतको हिसाबले नेपालको GDP को मुख्य स्रोत मानिएको पर्यटनलाई के कसरी अगाडि बढाउनु र सुधार गर्नु आवश्यक छ भन्ने विषयमा केही आफ्नो बिचार राख्न चाहन्छु। म कामकै सिलसिलामा संसारका विभिन्न देश पुगेको छु। तर नेपाल जति सुन्दर देश मैले संसारको कुनै कुनामा पनि देखेको छैन।
पर्यटनको लागि तलका ३ कुराहरुमा विषेश ध्यान दिनुपर्ने हुन्छ।
- टुरिज्म इन्फ्रास्टक्चर (बाटोघाटो, यातायातको सुविधा एवम् सर्वसुलभता, सुविधायुक्त सफा बस्ने होटल र राम्रो सेवा)
- हाइजेनिक खाना
- शान्ति र सुरक्षाको व्यवस्था
नेपालमा विदेशी पर्यटकहरु
- चाहे ट्रेकिङको लागि जाओस्,
- चाहे साइटसिइङको लागि जाओस,
- चाहे छुट्टी बिताउन जाओस्,
- चाहे जंगल सफारीको लागि जाओस्,
- चाहे जल सफारीको लागि जाओस्,
- चाहे हिमाल चढ्ने उदेश्यले जाओस्,
- चाहे धार्मिक कारणले जाओस्,
- चाहे हनिमुनको लागि जाओस्,
- चाहे योगा तथा ध्यानको लागि जाओस्, जुनसुकै परपोजले गए पनि सबैलाई चाहिने भनेको बस्न राम्रो प्रबन्ध भएको सफा सुग्घर होटल, हाइजेनिक खाना र सुरक्षा नै हो। त्यसैले यी कुराहरुमा व्यवसायीहरुले विशेष ध्यान दिनुपर्ने देखिन्छ। होटलमा कर्मचारीहरुको बोलिचाली र व्यवहार पर्यटकलाई आकर्षण दिलाउने मुख्य कुरा हो, जुन कुरामा जापान संसारमा सबैभन्दा अगाडि भएको तथ्याङ्कले देखाउँछ।
नेपालमा कस्तो पर्यटक भित्र्याउनु जरुरी छ त?
हाल नेपाल भ्रमण गर्ने पर्यटकहरुमध्ये ८० प्रतिशत विदेशी पर्यटकहरु बेरोजगार, विदेशमा लिएको बेरोजगार भत्ताले नेपालमा गएर लामो समय सस्तोमा खाने, बस्ने उदेश्यले जानेहरु, लागू-औषध सेवनको लागि जाने प्रयोगकर्ताहरु अनि विदेशको अनुभवका लागि छुट्टीको समयमा र सस्तोमा घुम्न चाहने विद्यार्थीहरु पर्छन्। नेपालको टुरिज्मले यस्तो किसिमको पर्यटकलाई लक्षित गरी नेपालको पर्यटन कहिले पनि उँभो लाग्दैन। यस्ता पर्यटकलाई लक्षित गर्नु भनेको देशको लागि फाइदा होइन, घाटा हो। यस्ता पर्यटकले गर्दा नेपालको पर्यावरण दिनदिनै खस्किँदै गइरहेको छ ।
न उनीहरुसँग खर्च गर्ने पैसा हुन्छ, न त यस्तो लेबलको पर्यटकले वातावरणीय सरसफाइ र पोलुसनको बारेमा विज्ञ नै हुन्छन्। यस्ता तल्लो स्तरका पर्यटकहरुले नेपालको शहरदेखि पहाड र हिमालमा जथाभावी फोहोर फाल्दै हिँडेर वातावरण र प्रकृति बिगारिरहेका छन्। यिनीहरु १ रात होटलमा बस्न र १ बोतल पानी किन्दा पनि मोलमोलाई गरेर नेपाली बजारमा चलेकोभन्दा सस्तोमा किन्न खोज्छन्। त्यस्तो पर्यटकलाई नेपाल भित्र्याएर नेपाललाई केही फाइदा छैन। र, पर्यटन व्यवसायीहरुलाई पनि केही हुनेवाला छैन।
नेपालको पर्यटनको विकास गर्ने हो भने धनी पर्यटकलाई आकर्षण बढाउनुपर्छ। स्वीजरल्याण्ड, हवाइ, गुआमको जस्तो विश्वका धनी पर्यटक भित्र्याउने नीति नियम बनाउनुपर्छ। नेपालको ‘टुरिज्म ब्राण्डेड’ गर्नुपर्छ। त्यहीअनुसारको संसारभरि प्रचार-प्रसार हुनुपर्छ।
स्वीजरल्याण्ड पनि नेपालजस्तै भूपरिवेष्ठित देश हो। जसले आफ्नै प्रकृति, डाँडाकाडा, हिमश्रृङखलाहरुको संरक्षण र विकास गरेर देशको हरेक ठाउँमा बाटोघाटो, रेल तथा अन्य सुविधा पुर्याएको छ। देशको GDP को मुख्य स्रोत पर्यटनलाई बनाएको छ। त्यहीअनुसार पर्यटन पूर्वाधारको विकास गरेको छ। हरेक क्षेत्रमा सुविधाअनुसारको दर-रेट तोकेको छ। एउटा इजरायली लागू औषध प्रयोगकर्ताले कहिले पनि स्वीजरल्याण्डमा गएर गाँजा खाएर, अनि सस्तोमा बसेर आउँछु भन्ने कल्पना गर्न सक्दैन। जहाँ धनी पर्यटकहरुले मात्र लक्षित गरेका हुन्छन्। संसारभरिका धनी मान्छेको कल्पना नै १ पटक स्वीजरलायाण्ड पुग्नु भन्ने छवि बनिसकेको छ।
नेपाल स्वीजरल्याण्डभन्दा धेरै राम्रो छ, हामीले पनि पर्यटन पूर्वाधारहरुको विकास गरेर संसारभरिका पर्यटकलाई नेपाल तान्न सक्ने हो र सोहीअनुसारको छवि बनाउन सक्ने हो भने नेपाललाई World’s kingdom of Tourism भनेर घोषणा गर्न र गराउन सकिन्छ, जसको लागि सबैभन्दा पहिला पूर्वाधार निर्माण हुनुपर्छ।
स्वीजरल्याण्डले बाह्य पर्यटकलाई आकर्षित गरेझैँ जापानले भने बाह्य पर्यटनलाई भन्दा आन्तरिक पर्यटनलाई नै बढी केन्द्रित गरेको पाइन्छ। जापानले हरेक जिल्ला-जिल्लामा केही न केही पर्यटकीय स्थल बनाएको छ। चाहे त्यो ठाउँको सानो उत्पादन हुने फलफूल या गिफ्ट पाकेटबाट किन नहोस् प्रचार-प्रसार गर्ने र ती ठाउँहरुलाई चिनाउने केही न केही माध्यम बनाएको हुन्छ। देशभित्रै पर्यटनको प्रचार-प्रसार गरी आन्तरिक पर्यटकहरुलाई यता र उता घुमाई देशभित्रै पैसा खसाल्ने नीति बनाएको पाइन्छ।
यसरी नै हाम्रो देशले पनि नेपालको पूर्व मेचीको इलाम चियाबारीदेखि पश्चिम महाकाली दार्चुलाको चारकिला धामसम्म एउटा एउटा क्षेत्रलाई पर्यटन क्षेत्र घोषणा गरी सोहीअनुरुपको पूर्वाधार तयार पारी आन्तरिक पर्यटन प्रवर्द्वन गर्ने हो भने सिङ्गापुर, मलेसिया, थाइल्याण्डतिर पैसा खर्च गर्न जाने धनाड्य नेपालीहरु आफ्नै देशमा त्योभन्दा राम्रो ठाउँहरु छन् भनेर चिन्ने छन्। र, आन्तरिक पर्यटनतर्फ झुकाव बढाउने छन्।
यसो गर्न सकेमा आन्तरिक पर्यटनको विकास हुनेछ भन्ने मलाई लाग्छ। अनि अर्को कुरा नेपालका पर्यटक स्थल भनेर चिनिने ठमेल, पोखरा, लुम्बिनी, चितवनतिरका होटलमा बस्न गयो भने, एक रातमै हजारौँ खर्च गर्न सक्ने नेपाली पर्यटकलाई भन्दा एक छाक भात पनि मोलमोलाई गरेर खाने गोरो छाला भएका विदेशीलाई प्राथमिकता र बढी सेवा दिएको पाइन्छ। पर्यटन क्षेत्रमा लागेकाहरुको यस्तो सोचाइ र व्यवहारले पनि नेपालको आन्तरिक पर्यटकलाई नकारात्मक प्रभाव परेको छ।
अन्तमा,
समग्रमा के भन्न चाहन्छु भने, हाल नेपाल जाने पर्यटक भनेको २० प्रतिशत राम्रा पर्यटक पनि हुन्छन् भने, ८० प्रतिशत झोले, गँजडी, होमलेश, लफङगा, विदेशमा सरकारबाट बेरोजगार भत्ता खाएर बाँचेकाहरु नै हुन्। यस्ता पर्यटकलाई नेपाल जानुभन्दा नजानु ठीक छ। नेपालीहरु विदेशी गोरो छाला देख्ने वित्तिकै निकै ठूलो र धनी भन्ने सोच्छन्, सकेसम्म घरमै लान्छन, खुवाउँछन, सेवा गर्छन् र तिनीहरुलाई आफ्नो बनाइ फाइदा लिने सोच बनाउँछन्।
तर उल्टो तिनै लफङ्गाहरुले नेपाली गरिब जनताको खाने र फाइदा लिने गरिरहेका हुन्छन्। नेपालीले दिएको सेवा, मान-सम्मानले उनीहरुलाई भूइँमा खुट्टो नै हुँदैन। नेपालीले दिएको सम्मानले तल्लो स्तरका ती विदेशीहरु आफूले आफैँलाई गर्व गर्न शुरु गर्छन्। र, आफ्नो देशमा फर्केपछि तिनै सोझा नेपालीहरुलाई हातले खान्छन्, शौच गरेपछि हातैले धुन्छन्, हप्तामा १ दिनमात्र नुहाउँछन्, आदि इत्यादि भन्दै हाँसोको पात्र बनाउँदै खिल्ली उडाउँछन्।
यस्ता लफङ्गा पर्यटकहरुले नेपाल र नेपालीलाई विविध किसिमका शोषण गर्नुका साथै उल्टै कंगाल र बर्बादी बनाइरहेका घटनाहरु धेरै छन्। यस विषयमा नेपाल सरकार, पर्यटन मन्त्रालय, पर्यटन विभाग र पर्यटन व्यवसायीले विशेष ध्यान दिनु जरुरी छ। र, पर्यटन क्षेत्रमा एकदम आधारविन्दुबाटै सुधार गरी स्वीजरल्याण्ड, हवाइ, गुआम, बालीको जस्तो व्यवस्थित र गुणस्तरीय पर्यटन बनाइ नेपाललाई विश्वको पर्यटन राजधानी बनाउनु जरुरी छ। यदि यसो गर्ने हो भने कुनै पनि नेपालीलाई पैसाको लागि विदेशिनु पर्ने आवश्यकता हुने छैन।
लेखक जापानका लागि पर्यटन दुत हुनुहुन्छ।


























