चितवन, असार १० । भरतपुर महानगरपालिकाले नवौँ नगर सभामा ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। यो बजेट गत वर्ष भन्दा ६५ करोड बढी हो। नवौँ नगरसभामा महानगर प्रमुख रेनु दाहालले आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन्। यसअघि आठौँ नगरसभामा महानगरले ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार बराबरको बजेट प्रस्तुत गरेको थियो।
नगरसभामा प्रस्तुत बजेटमा आन्तरिक आयतर्फ १ अर्ब २० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाडबाट ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट ३० करोड, मर्मत सम्भार कोष, जिल्ला समन्वय समिति र सडक बोर्डबाट ३–३ करोड आय हुने अनुमान गरिएको छ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले आगामी वर्ष हरेक वडालाई १ करोड ७० लाखका दरले २९ वडालाई एकमुष्ठ बजेट ४९ करोड ३० लाख उपलब्ध गराउने बताइन्। उनले अधुरा योजनाको निरन्तरताका लागि ९८ करोड विनियोजन गरिएको जनाइन्। गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा २ करोड, शिक्षा विकासमा १२ करोड ५० लाख बजेट विनियोजन गरिएको छ।
कोभिड रोकथाम तथा नियन्त्रणका लागि कोभिड कोषका लागि १ करोड ९० लाख विनियोजन गरिएको छ। स्वास्थ्यतर्फ ९ करोड, सहकारी तथा रोजगारी प्रर्वधनमा ३ करोड ५० लाख, कृषि तथा पशुपंक्षी विकासमा ८ करोड ७० लाख, युवा तथा खेलकुदमा ३ करोड बजेट बिनियोजन गरिएको छ।


























