काठमाडौं, जेठ २६ । प्रतिनिधि सभा विघटनको मुद्दा छिनोफानोका लागि दोस्रोपटक गठन गरिएको संवैधानिक इजलासमा दुई न्यायाधीशहरु आनन्दमोहन भट्टराई र दीपककुमार कार्की यथावत् रहने भएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दुई न्यायाधीशबारे केही नहुने भन्दै बहस सुरु गर्न निर्देशन दिएका हुन्। चिया ब्रेक हुनुअघि देउवासहितका सांसदको तर्फबाट बहस सुरु गर्न राणाले निर्देशन दिएका छन्।
उक्त निर्देशनसँगै शेरबहादुर देउवासहित १४६ सांसद रिट निवेदक रहेको मूल निवेदकका तर्फबाट वरिष्ठ अधिवक्त महादेव यादवले बहस सुरु गरेका छन्।सरकार पक्षले स्वार्थ बाझिने भन्दै यसअघि उक्त दु्ई न्यायाधीशहरु आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीलाई संवैधानिक इजलासमा नराख्न माग गरेको थियो। बहसको समय आधा घण्टा तोकिएको छ।
संवैधानिक इजलासका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आधा घण्टा अर्थात् ३० मिनेटभन्दा एक मिनेट पनि थप नहुने बताए।
उनले इजलासमा भने, ‘समाननीयज्यूबाट प्रस्ट कुरा आइसकेको छ। बाँकी कुरामा हामी चार न्यायाधीश एक मत छौँ।’
न्यायाधीश खतिवडाले इजलास गठनका सम्बन्धमा अब कुनै पनि कुरा नसुन्ने बताउँदै भोलि लेख्नुपर्ने बेलामा सम्बोधन गर्ने बताए।
उनले भने, ‘विगतका कुरालाई करेक्सन गर्नुपर्छ, यो सिचुएसन हामी करेक्सन गर्छौं। बाँकी रिटमा के गर्ने भन्ने कुरा टि–ब्रेकपछि गरौँला।’


























