काठमाडौं, जेठ २४ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहमा विभाजन ल्याएर केहीलाई मन्त्री बनाउने गरी तयारी गरेका छन्। बालुवाटार स्रोतका अनुसार आइतबार ओलीले अगाडि सारेको ६ बुँदे अपिल त्यही कदमका लागि हो।
ओलीको अपिललाई माधव नेपाल तथा झलनाथ खनाल समूहका फरक नेताहरुले फरक प्रतिक्रिया दिइरहेका छन्। खासगरी योगेश भट्टराईले ओलीको कदमलाई सकरात्मक भनिरहेका छन् भने रामकुमारी झाँक्री, बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्यहरुले यसलाई एकता टार्ने प्रस्ताव भनेका छन्।
नेकपा–एमाले जारी अन्तरसंघर्ष कसरी हल गर्ने भन्ने विषयमा नेपाल(खनाल समूहका केही नेताहरुले फरक धारणा राख्दै आएका थिए। यही मौकामा ओलीले नेपाल समूहका केही नेताहरुलाई मन्त्रीको प्रस्ताव गरिरहेको बुझिएको छ। उनले महत्वपूर्ण मन्त्रालयमा खनाल–नेपाल समूहलाई भित्र्याउने तयारी गरेका हुन्।
कार्यदलमा भएको सहमति अनुसार नै प्रधानमन्त्री ओली जेठ २ मा फर्किन सहमत भएकाले अब मन्त्रीमण्डललाई पूर्णता दिन लागिएको ओली निकट एक नेताले जानकारी दिए। पार्टी जेठ २ मा फर्किएपछि अब समूह बाँकी नरहेको र एमालेका जुन नेतालाई मन्त्री बनाउँदा पनि हुने उनको तर्क छ।
प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का ८ मन्त्री र २ राज्यमन्त्री तथा पार्टीबाटै समेत गरी गत शुक्रबार मन्त्रीमण्डल पुर्नगठन गरेका थिए।
महत्वपूर्ण मन्त्रालय गृह, रक्षा, सूचना तथा सञ्चार सहित ७ मन्त्रालय भने प्रधानमन्त्री ओलीले आफू मातहत नै राखेका थिए। ती मन्त्रालयमा प्रधानमन्त्री ओलीले खनाल–नेपाल समूहका नेतालाई ल्याउने तयारी गरेका हुन्।


























