चितवन, जेठ २३ । तत्कालिन नेकपा माओवादीले चितवनको माडी बाँदरमुढेमा यात्रुवाहक बसमा बम विस्फोट गराई ३८ जना सर्वसाधारणको हत्या गरेको दुखद् घटना भएको आज १६ वर्ष पुरा भएको छ।
सशस्त्र हिंसाका बेला चितवनको माडी कल्याणपुर बादरमुढे खोलामाओवादीले थापेको विद्युतीय धरापमा परी २०६२ साल जेठ २३ गते ३८ जना सर्वसाधारणले ज्यान गुमाएका थिए। बम बिस्फोटन घटनामा ७५ जना घाइते भएका थिए। माडीबासीले आजको दिनलाई कालो दिनका रुपमा सम्झेर घटनामा मृत्यु हुनेहरुको सम्झनामा बाँदरमुढेमा वर्षेनी विशेष कार्यक्रमको आयोजना गर्ने गरिएको भए पनि यसपटक कोरोनाका कारण बिगतको जस्तो कार्यक्रम नहुने देखिएको छ।
१ सय ५० जना यात्रु बोकेर माडीको बगईबाट नारायणगढतर्फ आउदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबस विस्फोटमा परेको थियो। घटना भएको १६ बर्ष पुग्दा पनि घटनाका पीडितहरुले भने हाल सम्म उचित राहत पाउन सकेका छैनन्।
अहिले पनि धेरै घाइते र पिडित बनेकाहरु आफुहरुको उचित ब्यबस्थापन र आबश्यक उपचारको ब्यबस्थापन नभएको गुनासो गरेका छन्। घाइतेहरु धेरैले आफुहरु अंगभङ भएकोले सरल र सहज जिबन यापन गर्न कठिन भएको जनाएका छन्।


























