काठमाडौं, जेठ २३ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज संबैधानिक इजलासमा सुनुवाई हुदै छ। यस अघि इजलास गठनमा विवाद भएपछि संवैधानिक इजलास पुनः गठनको प्रक्रिया अघि बढेपछि आजदेखि शुरु हुने सुनुवाईमा कस्तो इजलास गठन होला भन्ने कौतुहलता बढेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलासमा न्यायाधीशद्व केसी र श्रेष्ठले नेकपा पार्टी एकता र दर्ताको पुनरावलोकन अनुमति दिने फैसला गरेको विषयलाई प्रश्न उठाइएको थियो। यही विवाद लम्बिएर सुनुवाइ प्रभावित हुने भएपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने निर्णयसहित यही आजका लागि पेशी तोकेका हुन्।
जेठ १३ गते शुक्रबारबाट सुरु भएको सुनुवाइमा आइतबार पनि इजलास गठनकै विषयमा बहस भयो। मंगलबार पनि विषयवस्तुले प्रवेश नै पाएको थिएन।
इजलास गठनको विवादमा न्यायाधिश इजलासमा बस्न नहुने भन्ने मात्र कुरा उठेन, यस पटक इजलासमा भएका दुई वरिष्ठतम् न्यायाधीश कार्की र न्यायाधीश डा भट्टराईले इजलासबाट आफूहरू अलग हुने राय सुनाए।
उनीहरुले आफ्नो राय सुनाउदै भने, “न्यायिक स्वतन्त्रता र न्यायपालिकालाई प्रदान गरिनुको सैद्धान्तिक आधार न्यायाधीशहरुले निष्पक्ष व्यवहार गर्छन् भन्ने नै हो, न्यायको आशनलाई भगवान श्री विष्णुको आशन पनि भनिन्छ। यसको सोझो सम्बन्ध न्यायिक पवित्रतासँग छ, न्यायिक कार्य सदा पवित्र र निष्पक्ष रहनुपर्छ, न्यायाधीश हरेक किसिमका आग्रह र पूर्वाग्रहका आशंकाबाट माथि उठ्न सक्नुपर्छ।”
उनीहरुले आफू इजलासबाट अलग रहने र प्रधानन्यायायाधीशले आगामी दिनमा संवैधानिक इजलास विवेकसम्मत रुपमा गठन गरेमा आफूहरु बस्त तयार रहेको उल्लेख गरेका छन्।
“मुद्दा हेर्न रोष्टरमा रहेका न्यायाधीशहरुसँग छलफल र परामर्श गरी एउटा विवेकसम्मत आधारमा इजलास गठन भयो र हामीलाई संलग्न गराउन उहाँले उपयुक्त देख्नुभयो भने हाल पेश भएका यी लगायतका मुद्दामा न्यायका लागि सहर्ष आफ्नो सेवा अर्पण गर्न तयार रहेको पनि हामी अवगत गराउछौं”– आदेशमा उल्लेख छ।
कस्तो बन्ला नयाँ इजलास
हुन त प्रधानन्यायाधिश राणाले शुक्रबार नागरिकता सम्बन्धि अध्यादेशको सुनुवाईका लागि वरिष्ठताको आधारमा इजलास गठन गरेर आजपनि यसैलाई निरन्तरता दिने संकेत भने गरेका छन्। प्रधानन्यायाधीश राणाले आफ्नो अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहे इजलास गठन गरेका थिए।
अब आजपनि यसलाई निरन्तरता दिएमा न्यायाधीश कार्की यसअघि केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्री कार्यकालमा महान्यायाधिवक्ता भएकाले निष्पक्षतामा प्रश्न उठेपछि इजलास छोडेका थिए।
वरिष्ठताकै क्रमकै न्यायाधीश विश्वम्भर श्रेष्ठ पनि यसअघिको फैसलामा संलग्न भएका थिए। न्यायाधीश कार्की र श्रेष्ठमध्ये एक जना अलग हुनुपरेमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा रहने छन्। दुवै अलग हुनुपरेमा डा भट्टराई रहने देखिएको छ।


























