काठमाडौं, जेठ २० । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ। अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। अर्को बैठक परिस्थिति हेरेर सूचित गरिने जनाइएको छ।
यसअघि बुधबारलाई बोलाइएको बैठक आज ४ बजे बस्नेगरी स्थगित भएको थियो। पार्टी एकतालाई मुर्तरुप दिन माधव नेपाल पक्षसँग वार्ता जारी रहेकाले हिजो स्थगित भएको बैठक आज नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राखेपछि स्थगित गरिएको छ।
आजै एमालेले पार्टीले कारवाही गरिसकेका व्यक्तिले बोलाएको अनधिकृत बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई चेतावनी समेत दिएको थियो।
पार्टीबाट निष्कान गरिएका माधव कुमार नेपाल पक्षधरले केन्द्रीय कमिटी बैठक डाकेपछि एक वक्तव्य जारी गर्दै कार्यालय सचिव शेरबहादुर तामाङले अवैध बैठकमा संलग्न नहुन केन्द्रीय सदस्यहरुलाई सचेत गराएका छन्।
पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको भन्दै उनले निन्दा र भर्त्सना गरेको जनाएका छन्।


























