दाङ, जेठ १७ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन्।
पाण्डेले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन्। पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मतका साथ विजयी भएको जनाइएको छ। खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन्।
प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ। निर्वाचन आयोगले औपचारिक घोषणा केहीबेरमा गर्दैछ।
कांग्रेसका उनी माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बनेका थिए। खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको साथ दिएको थियो। निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो।
बिहान ९ बजेदेखि सुरु भएको थियो। जम्मा तीन सय मतदातामध्ये नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल म्शेर जबराले चुनाव बहिष्कार गरेका थिए भने अन्य दुई जना मतदाता बिरामी भएर काठमाडौँमा रहेकाले मतदान गर्न गएका थिएनन्।
कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गरिएको हो। नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्काले एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए। त्यसपछि रिक्त पदमा नेकपा एमालेबाट खड्का नै उम्मेदवार बनेका थिए।


























