बुटवल, जेठ १७ । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा जारी निर्वाचनमा २९७ जनाले मतदान गरेका छन्। अब जम्मा तीन जना मात्रै मतदान गर्न बाँकी छन्। तीन जनामध्ये बाँकेका प्रमुखले मतदान नगर्ने घोषणा गरिसकेका छन्। यस्तै नरैनापुर गाउँपालिकाका अध्यक्ष र गुल्मी दरबार गाउँपालिकाका अध्यक्षले अहिलेसम्म मतदान गरेका छैनन्।
३ सय मतदाता रहेको लुम्बनीमा ८३ प्रदेशसभा सदस्य र २१४ जना स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गरेका छन्। मतदानका समय तीन दिन बजेसम्म छ। आजै भर्चुअल माध्यमबाट परिणाम आउने बताइएको छ। लुम्बिनी प्रदेशमा गठबन्धनबाट दृगनारायण पाण्डे र एमालेबाट चन्द्रबहादुर खड्का चुनावी मैदानमा रहेका थिए।
प्रदेशसभामा तीन सय जना मतदाता रहेका थिए। जसमा प्रदेशसभा सदस्यका ८३ र स्थानी तहका प्रमुख उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी २१७ मतदाता रहेका थिए।
यस्तै जसपाबाट निलम्बनमा परेका ४ जनालाई पनि अन्तिम समयमा मतदानको अधिकार प्रदान गरेको थियो। आयोगले राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभातर्फ ७९ जना मतदाता कायम भएकोमा निर्वाचन आयोगको जेठ १६ गते बसेको बैठकले चार जना प्रदेश सभा सदस्यको नाम पुरक मतदाता नामावलीमा समावेश गरेको हो। राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ।


























