काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठन गठन गर्न सकिने स्पष्ट पारेकाछन्। विपक्षी दलले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रुपमा हस्ताक्षर गराएर प्रधानमन्त्रीका लागि दावी गरेको जनाउँदै उनले यस कारण पनि मुलुक मध्यावधि निर्वाचनमा गएको बताए।
प्रेस चौतारी नेपालले आज आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा उहाँले निर्वाचनमा भाग लिन सबै पक्षलाई आग्रह गर्दै संविधानबमोजिम आफ्नो नेतृत्वको राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जान आफू तयार रहेको स्पष्ट पारे। संसदीय राजनीतिक प्रणालीका आधारमा आफूले प्रधानमन्त्रीमा गरेको दावी उपयुक्त भए पनि विश्वासको मत पाउने सक्ने आधार नदेखेपछि राष्ट्रपतिले दुवै पक्षको दावी अस्वीकार गर्नुभएको धारणा उनले राखे।
नेकपा (एमाले) का अध्यक्ष ओलीले निर्वाचन अगाडि सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइने सरकारको प्रयास हुने पनि बताए। उनले आगामी आर्थिक वर्षको बजेट कोभिड नियन्त्रणमा प्राथमिकता दिँदै जेठ १५ गते नै अध्यादेशबाट आउने जानकारी दिए। एक प्रश्नका जवाफमा उनले पार्टीमा रहेर सरकारविरुद्ध विपक्षीसँग साँठगाँठ गर्नेहरुलाई कारबाही गरिने स्पष्ट पारे।


























