चितवन, जेठ ९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ६६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन्। योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९१ हजार ३४८ पुगेको छ। मन्त्रालयका अनुसार निको हुने दर ७६.३ प्रतिशत रहेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पीसीआर परीक्षणमा ७ हजार ५९८ र ९३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३१६ जना गरी कुल ७ हजार ९१४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।
नेपालमा थप १९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १९३ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।


























