चितवन, जेठ २ । चितवनमा दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि भरतपुरका अस्पताल भरिएका छन्। दोस्रो लहरको कोरोना संक्रमितका लागि सघन उपचार कक्ष (आइसियू) अनिवार्यजस्तै भएको छ। जसले गर्दा अस्पतालहरुमा कोरोना सङ्क्रमित बिरामीको चाप बढ्दै जाँदा बिरामी राख्ने ठाउँ पनि अभाव हुन थालेको छ। पछिल्ला केही दिनयता भने जिल्लामा अक्सिजनको पनि अभाव हुन थालेको छ। चितवनको उत्पादनले चितवनकै बिरामीलाई पुग्ने भए पनि बाहिरबाट आउने बिरामीको संख्या बढ्दै गएपछि अक्सिजन अभाव हुन थालेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
जिल्लाका दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, वीपी कोइराला मोमोरियल क्यान्सर अस्पतालसहित, पुष्पाञ्जली अस्पताल, नारायणी सामुदायिक अस्पताल र नेशनल सिटी अस्पताललगायतका निजी अस्पतालमा अहिले कोरोना सङ्क्रमितको उपचार भइरहेको छ। यी अस्पतालमा सङ्क्रमितका लागि छुट्याइएका शय्याहरु भरिन थालेका छन्। केन्द्रीय अस्पतालको जिम्मेवारी पाएको भरतपुर अस्पतालमा संक्रमितको संख्या क्षमताभन्दा बढी भइसकेको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी गराइसकेका छन्। अन्य अस्पतालमा पनि जनरल वार्डमा भन्दा भेन्टिलेटर, आइसियू र एचडियूमा बिरामी धेरै छन्।
अस्पतालमा भर्ना भएका बिरामी प्रायः सबैलाई अक्सिजन दिनुपर्ने भएकाले उपचार जटिल बन्दै गएको छ। तर संकटको समयमा ७२ घण्टामै निर्माण गरेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा कुनै चासो छैन। शौचालय मर्मतको नाममा बन्द गरिएको अस्पताल समयमै सञ्चालनमा ल्याउन सकेको भए अस्पतालको शय्या पाउनको लागि नयाँ बिरामीले पुरानो बिरामीको मृत्यु कुर्नुपर्ने अवस्था छ भन्दै अस्पताल अध्यक्षले हारगुहार गर्नुपर्थेन। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा.अधिकारीले आफ्नो फेसबुकमा लेखेको ‘नयाँ बिरामीले शय्या पाउनको लागि बिरामीको मृत्यु वा निको हुनुको विकल्प नरहेको’ स्टाटस यतिखेर चर्चामा छ।
यदि करोडौं लगानी गरिएको संरचनातर्फ अलिकति ध्यान दिन सकेको भए सामाजिक सञ्जालमा अत्यासलाग्दो स्टाटस लेख्नै पर्थेन कि?
यही प्रश्न डा. अधिकारीलाई गर्न खोजेका थियौं। तर पहिले जस्तै यसपटक पनि उनको फोन उठेन। सायद कोरोना सङ्क्रमितको व्यवस्थापन र उपचारमा व्यस्त हुनुहुन्थ्यो होला। उनको मात्र होइन सूचना प्राप्त गर्न सकिने कुनै पनि स्रोतको फोन उठेन। सायद सबैजना जवाफ दिनुभन्दा सङ्क्रमितको व्यवस्थापनमै व्यस्त थिए। हुन त यस्ता प्रश्नको जवाफ दिनुभन्दा यतिबेला कोभिड नियन्त्रणमा नै लाग्नु उचित हो।
भरतपुर महानगरपालिकाले ७२ घण्टामै निर्माण गरेको भनेर आफूले जस लिएको अस्पताल अलपत्र पर्न थालेपछि भरतपुर अस्पताललाई जिम्मा लगाइदियो र आफू पन्छियो। अप्ठ्यारो परिस्थितिमा जिम्मा स्वीकार गरिएको अस्पताल ‘मर्मत’को नाममा बन्द भएपछि फेरि सञ्चालनमा आउन सकेको छैन। न कुनै सरोकारवालाले ध्यान नै यता तानिएको छ। महानगर स्वयम् पनि आफ्नो यत्रो लगानी भएको संरचनालाई चटक्कै भुलेर नयाँ आइसोलेसन केन्द्र स्थापनामा लागेको छ।
एउटा तुहियो अर्को खुल्दै
“स्थापना गरिसकेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल बेवारिसे भएपछि तपाईँहरूले हस्तक्षेप गरेर पुनः सञ्चालन गर्न सकिँदैन?” यो प्रश्न हामीले महानगर प्रमुखसँग राख्न चाहेका थियौं। तर उहाँ पनि कोरोना नियन्त्रण प्रयाशमा हुनुहुन्थ्यो होला। त्यसैले महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाको जवाफले चित्त बुझाउनु पर्यो। जुन जवाफमा उक्त अस्पतालको बारेमा कत्ति पनि कुरा नगरी त्योभन्दा “अझै सुविधा सम्पन्न” आइसोलेशन केन्द्र दुई स्थानमा तयार गरिरहेको जानकारी प्राप्त भयो। जसमध्ये प्राथमिक स्वास्थ्य केन्द्र शिवनगरको आइसोलेसन हिजो उद्घाटन भैसकेको छ। उनका अनुसार यी दुई ठाउँमा कम्तिमा १५ / १५ शय्याको आइसोलेशन कक्ष निर्माण गरिनेछन् र ती आइसोलेशन अक्सिजनसहितको सुविधा सम्पन्न हुनेछन्। कोरोनाको उपचार गर्न तोकिएका अस्पतालहरुको शय्या भरिएमा आइसोलेशन कक्षलाई सञ्चालनमा ल्याइने बताइएको छ।
कोभिड–१९ को रोकथाम र उपचारका लागि महानगरले आफ्नै नेतृत्वमा समिति गठन गरी २९ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत खतिवडाले लगातार न्युजलाई जानकारी दिए। “पहिले नै तयार भएको कोरोना अस्पताललाई प्रयोग नगरी फेरि अर्को आइसोलेसन बनाउनु उचित हो?” भन्ने प्रश्न दोहोर्याएर गर्दा “जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको र पुरानो अस्पताललाई ब्यूँताउनुभन्दा भरतपुरका दुई स्थानमा अक्सिजन सहितको सुविधा सम्पन्न आइसोलेशन तयार गरिरहेको” जवाफबाट वार्ता पुरा भयो।
र, यो पनिः https://lagatarnews.com/2021/05/12/60729/


























