काठमाडौं, जेठ १ । नेकपा एमालेका दुईपक्षबीच भएको वार्ताले कार्यदलको नाम टुंगाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मा दिएको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएका छलफलमा दलमा देखिएको विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको हो।
बैठकपछि पत्रकारसँग कुरा गर्दै एमालेका नेता भीमबहादुर रावलले एकता कायम राखी दललाई अगाडि बढाउन गम्भीर छलफल भएको बताए। कार्यदलका सदस्यको नाम अध्यक्ष ओली र नेता नेपालले तय गर्नुहुने पनि उनले बताए। उनका अनुसार छलफल फेरि अगाडि बढाइने छ।
छलफलमा पार्टी अध्यक्ष ओली, नेता नेपालसहित, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेता रावल, घनश्याम भूसाल, गोकर्ण विष्ट, रघुजीपन्तलगायतको सहभागिता थियो।


























