काठमाडौं, बैशाख २६ । नेकपा एमाले फुट्ने पक्का भएपछि पुनः एकपटक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छलफलको प्रयास गरेका छन्। सामूहिक राजीनामाको तयारी गर्दै गरेका बेला माधव नेपाल समूहलाई फकाउन ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेललाई वार्ताका लागि पठाएका छन्।
ओलीको आधिकारिक प्रतिनिधि बनेर दुवै नेता अहिले सिंहदरबार पुगेका छन्। नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले राजीनामाको लागि हस्ताक्षर गरेर बुझाइसकेको बेला ओलीले नेपालसँग वार्ताका लागि आफूनिकट नेतालाई पठाएका हुन्।
पार्टी एकता जोगाउन अन्तिम प्रयासस्वरुप ओलीले दुई नेतालाई नेपालसँग वार्ताका लागि पठाएका हुन्। यसअघि नै यी दुई नेताले नेपाल समूहका दोस्रो तहका नेताहरुसँग तारन्तार छलफल गरिरहेका थिए।
नेपाल समूहका २० जना प्रत्यक्ष निर्वाचित सांसद्ले शनिबार राति नै राजीनामाका लागि हस्ताक्षर गरिसकेका छन्।


























